तनहुँ — निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशय क्षेत्रअन्तर्गत तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ ।
भिमाद–ऋषिङ सडकअन्तर्गत आयोजनाको जलाशयका कारण डुबानमा पर्ने वानटाङ खोलामा करिब १३० मिटर लामो पक्की पुल निर्माणका लागि सबैभन्दा कम बोलकबोल गर्ने निर्माण व्यवसायीसँग बुधबार ठेक्का सम्झौता गरिएको हो ।
निर्माण व्यवसायीले नै पुलको डिजाइन र निर्माण गर्ने (डिजाइन एण्ड बिल्ड) गरी सपना निर्माण सेवा प्रालिसँग मूल्य अभिवृद्धि करसहित २३ करोड ७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरण कुमार श्रेष्ठले जानकारी गराए ।
आयोजनाको प्रवर्धक तनहुँ हाइड्रोपावर लि.का तर्फबाट प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठ र सपना निर्माण सेवाका तर्फबाट प्रबन्ध–सञ्चालक हरी प्रसाद ढकालले ठेक्का सम्झौतामा हस्ताक्षर गरेका छन् । ३० महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको हाइड्रोपावरका प्रबन्धक श्रेष्ठले जानकारी गराए ।
आयोजनाको विकास साझेदार एसियाली विकास बैंकको खरिद निर्देशिकाबमोजिम पुल निर्माणका लागि निर्माण व्यवसायी छनोट गर्न १४ असार २०८१ मा टेण्डर आह्वान गरिएको थियो । पाँचवटा निर्माण व्यवसायीहरुबाट प्रस्ताव पेश भएकामा प्राविधिक बोलपत्रहरुको मूल्याङ्कनमा ५ वटै कम्पनी सारभूत रुपमा प्रभावग्राही भएका थिए ।
त्यसपछि आर्थिक बोलपत्र खोलिएको थियो । आर्थिक बोलपत्रहरुको मूल्याङ्कनपश्चात न्यूनतम मूल्याङ्कित सारभूत रूपमा प्रभावग्राही सपना निर्माण सेवाको बोलपत्र स्वीकृत गरी ठेक्का सम्झौता गरिएको बताइएको छ ।
वानटाङ सेती नदीको सहायक खोला हो । आयोजनाले व्यास नगरपालिका–५ र ऋषिङ गाउँपालिका–१ को सीमानामा निर्माण गर्ने १४० मिटर अग्लो बाँधका कारण बन्ने जलाशयका कारण माथिल्लो तटीय क्षेत्रमा पर्ने वानटाङ खोला पनि डुवानमा पर्नेछ । अधिकतम तह समुद्र सतहबाट ४१५ मिटरसम्म बन्ने जलाशयका कारण त्यस भेगका बासिन्दाको आवतजावतमा अवरोध हुनेभएपछि आवागमनलाई सहज बनाउन पक्की पुल निर्माण गर्न लागिएको कम्पनीका प्रबन्ध–सञ्चालक श्रेष्ठले बताए ।
भिमाद बजारबाट ऋषिङपाटनसम्मको सडक कालोपत्र भइसकेको छ । बीचमा पुल नहुँदा मुख्य रुपमा वर्षायाममा त्यस भेगको आवागमन प्रभावित हुँदै आएको छ । आयोजनाले हाल वर्षायाममा वानटाङ खोला हुँदै गरिने आवतजावतलाई सहज बनाउन अस्थायी कल्भर्ट निर्माण गरिदिएको छ । यसबाट त्यस भेगका बासिन्दा लाभान्वित भएका छन् ।
आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरुमा ६८ योजनाहरु सम्पन्न भएका छन् । ६ वटा योजनाहरू सञ्चालित छन् ।
जीविकोपार्जन पुन:स्थापना योजनाअन्तर्गत आयोजना प्रभावितहरुको आयआर्जन वृद्धिका मौरीपालन, बाख्रापालन, वित्तीय साक्षरता, व्यवसायिक तरकारी खेती, इलेक्ट्रिसियनलगायतका विभिन्न तालिम सञ्चालन गर्दै आएको छ ।
