'वैदेशिक रोजगारबाट फर्किएकालाई उद्यमशीलतासँग जोड्नुपर्छ'

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

'Those returning from foreign jobs should be connected with entrepreneurship'

काठमाडौँ — सरोकारवालाले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको ज्ञान, सीप र पुँजीलाई परिचालन गर्न उद्यमशीलतासँग जोडेर उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित श्रम तथा रोजगार सम्मेलनको अन्तिम संवादमा सहभागी हुँदै वक्ताहरूले विदेशबाट फर्केका श्रमिकलाई उद्यमशीलतासँग जोड्न वित्तीय क्षेत्रसँग सहज पहुँच बनाउनुपर्ने बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले विदेशमा बस्ने नेपालीले कमाएको ६५ खर्बमध्ये १४ अर्ब मात्रै नेपालमा आइरहेको बताए । ‘त्यो सबै रकम नेपाल ल्याउनु युरोप, अमेरिका र अस्ट्रेलियामा रहेका नेपाली समुदाय तयार छन् । त्यहाँबाट पैसा मात्रै होइन, सीप पनि ल्याउन तयार छन्,’ उनले भने,‘हामीले एकपटकको नेपाली सधैंको नेपाली बन्न पाउनुपर्छ भनिरहेका छौं । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकताको उपयोग गर्न नियमवाली पनि बन्नुपर्छ ।’

दक्षिण एसिया ट्रेड युनियन क्षेत्रीय समितिका महासचिव लक्ष्मण बस्नेतले विदेशबाट फर्केका श्रमिकलाई वित्तीय साक्षरता कार्यक्रम ल्याउन जरुरी रहेको बताए । ‘नेपालमा विप्रेषणमा आएन भने नेपालको अर्थतन्त्र नै चल्दैन । यति महत्त्वपूर्ण भूमिका खेलेको प्रवासी श्रमिकलाई तिनका परिवारसँग बस्ने वातावरण बनाउने दायित्व सरकारको हो,’ उनले भने,‘यसका लागि स्थानीय तहबाट उद्यमशीलता विकासका लागि प्रभावकारी सेवा प्रवाह गर्नुपर्छ ।’

रेमी परियोजनाकी कार्यक्रम प्रखमु मधुसिका लंसाकरले नेपालले पुनर्एकीकरणलाई प्राथमिकता दिई स्थानीय स्तरमा नै कार्यक्रम चलाइरहेको बताइन् । ‘पुनर्एकीकरण एउटा श्रम आप्रवासनको महत्त्वपूर्ण चक्र हो । यसलाई श्रम सम्झौताको एउटा अभिन्न अंग बनाइदिनुपर्छ,’ उनले भनिन् ।

सम्मेलनमा कान्तिपुर मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत महेश स्वारले विदेशबाट फर्केका श्रमिकलाई नेपालमा पुन:स्थापना गर्न सञ्चारमाध्यमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘ जो मान्छे फर्केर आएका छन्, यहाँ उद्यम गर्न थालेका छन् । उनीहरूसँग टेक्निकल ज्ञान पनि छैन । र, उनीहरूले पाउने सेवाबारेमा पनि कहाँबाट पाइन्छ भन्ने जानकारी नहुन सक्छ । यदि यस्तो मान्छेलाई सेवा प्रवाह गर्ने संयन्त्रसँग जोड्न सक्यो भने उनीहरूको उत्पादकत्व बढ्छ । यो पाटोमा पनि मिडियामार्फत काम गर्न सकिन्छ,’ उनले भने ।   

मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिृकत प्रधुम्न पोखरेलले बैंकिङ क्षेत्रले वित्तीय सेवा मात्रै नभई गैरबैंकिङ सेवा पनि दिन जरुरी रहेको बताए । ‘५ करोड ६० लाख जनाको डिपोजिट खाता छ । कर्जा खाता १९ लाख मात्रै छ । आन्तरिक रोजगारी वृद्धि, उत्पादकत्व बढाउने हो भने सबैभन्दा बढी कृषि क्षेत्रमा लगानी बढाउनुपर्छ,’ उनले भने ।

सत्रका अध्यक्षता गरेको श्रमविज्ञ गणेश गुरुङका अनुसार दैनिक ५ सय जना नेपाल फर्किरहेका छन् । ‘पुँजी, ज्ञान, राष्ट्रप्रतिको भावना र सीप बोकेर नेपाल आउने श्रमिकलाई आन्तरिक श्रम बजारमा स्थापित हुने योजना जरुरी छ,’ उनले भने,‘वैदेशिक रोजगारीमा जाने श्रमिकलाई न्यून जोखिम पठाई अधिकतम फाइदा लिन सक्नुपर्छ ।’

कान्तिपुर

Link copied successfully