बजारीकरणका लागि आलु प्रदर्शनी मेला

फाल्गुन २७, २०८१

डीबी बुढा

Potato exhibition fair for marketing

जुम्ला — जुम्लामा मंगलबार आलु प्रदर्शनी मेला हुने भएको छ । सदरमुकाम खलंगाको कृष्णमन्दिरमा आलु प्रदर्शनी मेला हुन लागेको हो ।

जिल्ला कृषि विकास कार्यालय, भूमि समस्या समाधान आयोगको सहयोग र नेपाल पत्रकार महासंघ जुम्लाको संयोजनमा आलु प्रर्दशनी हुने भएको हो ।

 प्रदर्शनीमा जिल्लाका आठवटै स्थानीयतहका लेकाली क्षेत्रमा उत्पादन हुने आलुहरु प्रदर्शनीमा राखिने भूमि समस्या समाधान आयोगका विज्ञ सुमन आचार्यले जानकारी दिए । ‘यो प्रदर्शनीले आलुको बजारीकरणमा मात्र नभइ जुम्ली आलुको महत्त्वबारे पनि उजागर हुनेछ’, उनले भने ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लामा तीन महिने र ६ महिने आलुको खेती हुने गरेको छ । तिला गाउँपालिकाको ढिपु, हिमाको पातरखोला, सिंजाको जोडु, कनकासुन्दरीको बोता, पातारासीको तिर्खु, तातोपानीको टोप्ला र चन्दननाथ नगरपालिका क्षेत्रको आलु पनि प्रदर्शनीमा राखिने छ । जिल्लामा उत्पादित आलुको मूल्य बजारमा प्रतिकेजी ६० रुपैयाँ छ ।

तथ्यांक अनुसार गत वर्ष २ हजार २ सय ४५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको थियो । आर्थिक वर्ष ०८०/०८१ मा दुई हजार २४५ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको थियो । जसबाट ३४ हजार ४ सय ५० मेट्रिकटन आलु उत्पादन भएको थियो । 

चालु आर्थिक वर्षमा २ हजार २९० हेक्टर क्षेत्रफलमा खेती भएकोमा ३५ हजार ९३० मेट्रिकटन आलु उत्पादन भएको छ । सिजनमा आलु धेरै उत्पादन भएको देखिए पनि बेमौसममा आलु अभाव हुने गरेको छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully