सन् २०२४ को जनवरीयता टेस्लाको शेयरमा लगभग ४४ प्रतिशतको गिरावट
काठमाडौँ — अमेरिकी सडकहरूमा अहिले टेस्लाजस्तै देखिने गाडीहरू टोयोटा, अडी, माज्दा लगायत विभिन्न ब्रान्डका लोगोसहित गुडेका भेटिन्छन् । खासमा ती गाडी टेस्ला नै भए पनि कयौँ टेस्ला-धनीहरूले आफ्नो गाडीको लोगोमाथि अन्य ब्रान्डको लोगो टाँस्ने क्रम बाक्लिएको हो ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत इलन मस्कको राजनीतिक र सामाजिक धारणासँग असहमतको संख्या बढ्दै गएपछि टेस्ला गाडीलाई टोयोटा, अडी, माज्दा लगायत अर्कै ब्रान्डकोजस्तो देखिने बनाउने, टेस्ला बेचेर अर्को गाडी खरीद गर्ने वा खुलारूपमै बहिष्कारको आव्हान गर्नेहरू बढ्दै गएको समाचार फोर्ब्स, रोलिङ स्टोन लगायत सञ्चार माध्यमहरूले प्रकाशित गरेका छन् ।
'रोलिङ स्टोन्स' म्यागेजिनले त मस्कको राजनीति टेस्लाको पतनको सुरुवात हुनसक्ने उल्लेख गरेको छ । राजनीतिमा सक्रिय भएर मस्कले एकपछि अर्को विवादास्पद अभिव्यक्ति दिँदै गएपछि त्यसको विरोधमा टेस्ला खरिद गरिसकेका अमेरिकीहरूले आफ्ना टेस्लालाई ‘रिब्रान्डिङ’ गर्न थालेका हुन् ।
विद्युतीय गाडी उद्योगमा एक समय निर्विवाद रूपमा अग्रणी रहेको टेस्लाले अहिले अमेरिकामा यस्ता विरोध झेलिरहँदा युरोपेली र अन्य बजारहरूमा पनि गम्भीर चुनौती र प्रतिस्पर्धाको सामना गरिरहेको छ । मस्कको राजनीतिलाई शेयर बजारले पनि मन नपराएको देखिन्छ । सन् २०२४ को जनवरीयता टेस्लाको शेयर निरन्तर अस्थिर बनेको देखिन्छ । बीचमा कहिलेकाहीँ उँभो लागे पनि त्यसयता कम्पनीको शेयरमा लगभग ४४ प्रतिशतको गिरावट आइसकेको छ ।
मस्कका राजनीतिक विचार र व्यवहारप्रति असन्तुष्ट अमेरिका र युरोपका धेरै प्रयोगकर्ताहरूले खुलारूपमै मस्क संलग्न रहेका टेस्लालगायत कम्पनीहरूसँग दुरी बनाउन सुरु गरेको फोर्ब्सको समाचारमा उल्लेख छ । कतिपयले सिर्जनात्मक रूपमा टेस्लाका लोगो हटाएर अन्य गाडीजस्तो देखिने बनाउने, स्टिकर टाँस्नेजस्ता उपाय लगाएका छन् । टेस्ला मोडल ३ खरिद गरेका एक व्यक्तिले आफ्नो गाडीमा अडी ए ५ को ब्याज नै जोडेर पूरै नयाँ लुक दिएका छन् ।
टेस्ला कारधनीहरू माझ अहिले 'मैले यो गाडी इलन मस्क बहुलाउनुअघि किनेको थिएँ' भन्ने स्टिकर पनि निकै लोकप्रिय भएको देखिन्छ । यसले पनि गाडी मालिकहरू मस्कसँग दूरी बनाउन चाहिरहेका छन् भन्ने देखाउँछ । सर्वसाधारण प्रयोगकर्ता मात्र नभएर सेलेब्रिटीहरूले पनि मस्कसँग दूरी बढाउने निर्णय गर्न थालेका छन् ।
चर्चित अमेरिकी गायिका शेरेल क्रोले हालै आफ्नो टेस्ला बेचेर त्यसबाट उठेको रकम नेसनल पब्लिक रेडियोलाई दिने घोषणा गरेकी छन् । 'अब कसको समर्थन गर्ने भनेर निर्णय गर्ने समय आएको छ, बाइ-बाइ, टेस्ला,' शेरेलले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै यस्तो बताएकी छन् ।
सीएनएनकी चर्चित पत्रकार एलिसिन क्मेरोटाले पनि आफ्नो टेस्ला बिक्री गरिसकेकी छिन् भने मर्क रुफालो, लिओनार्दो डिक्याप्रियोजस्ता चर्चित हलिउड हस्तीहरूले पनि टेस्लाबाट टाढिने निर्णय गरिसकेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । त्यस्तै युरोपका चर्चित हस्तीहरू एमा वाट्सन, डेभिड एटेन्बर्ग, ग्रेटा थन्बर्ग लगायतले पनि मस्क र टेस्लाका बारेमा सार्वजनिक आलोचना गर्दै त्यसबाट टाढिने घोषणा गरेका छन् ।
टेस्ला मोडल-३ का मालिकहरूमाझ गरिएको सर्वेक्षणअनुसार ५ हजारमध्ये २१ प्रतिशतले 'इलन मस्कलाई मन नपराउनु' नै गाडी बेच्नुको प्रमुख कारण रहेको बताएका छन् । त्यसमध्ये १७.८ प्रतिशतले 'टेस्लाको ब्रान्ड छविप्रति असन्तुष्टि नै बिक्रीको मुख्य कारण रहेको उल्लेख गरे । विभिन्न सर्भेक्षणमा संलग्न धेरै उपभोक्ताले मस्कका राजनीतिक गतिविधि, विवादास्पद विचार र कम्पनीको हालको अवस्थाले टेस्लाको प्रतिष्ठा बिग्रँदै गएको महसुस गरेको प्रतिकृया दिएका छन् ।
न्युजविकका अनुसार नेदरल्यान्ड्समा गरिएको सर्भेक्षणमा सहभागी १ हजारजनामध्ये ५९० जनाले मस्कका कारण आफूलाई टेस्ला मन पर्न छोडेको र बरु चिनियाँ ब्रान्डहरू किन्ने बताएका थिए । त्यस्तै, २६ हजार व्यक्तिबीच भएको अर्को एक सर्भेक्षणमा संलग्न ४० प्रतिशतले मस्कका कारण टेस्ला आफ्नो प्राथमिकतामा नपर्ने सुनाएका थिए ।
सन् २०२५ जनवरीमा टेस्लाको बिक्री युरोपमा ४५ प्रतिशतले घटेको छ । समग्र विद्युतीय गाडी बजारमा ३७ प्रतिशत वृद्धि देखिएका बेला टेस्लाको बिक्री भने घटेको हो । यो गिरावट बढ्दो प्रतिस्पर्धा र मस्कको राजनीतिक गतिविधिहरूको कारण भएको बताइन्छ । जर्मनीमा टेस्लाको बिक्री ५९.५ प्रतिशतले घट्दा फ्रान्समा झन् ठूलो गिरावट ६३ प्रतिशत पुगेको छ ।
मस्कले जर्मनीको दक्षिणपन्थी पार्टी एएफडीलाई समर्थन जनाएपछि टेस्लाको ब्रान्ड इमेजमा थप गहिरो असर परेको देखिन्छ । टेस्ला यति कमजोर अवस्थामा पुगेको छ कि जनवरी २०२५ मा चिनियाँ गाडी निर्माता एसएआईसी मोटर्सले समेत टेस्लाभन्दा दोब्बर बढी गाडी बिक्री गरेको समाचार आइरहेका छन् ।
युरोपेली अटोमोबाइल उत्पादक संघका अनुसार टेस्लाले जनवरीमा ९ हजार ९ सय ४५ युनिट मात्र बिक्री गर्न सक्यो । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या १ड हजार १ सय ६१ थियो । समग्र विद्युतीय गाडी बजार ३७ प्रतिशतले वृद्धि भइरहेका बेला टेस्लाको यस्तो कमजोर प्रदर्शनले ब्रान्डप्रतिको विश्वास घटेको र त्यसको प्रमुख कारण मस्क रहेको स्पष्ट देखिने फोर्ब्सको रिपोर्टमा उल्लेख छ ।
