काठमाडौँ — फूल व्यवसायीहरूले काठमाडौंमा पुष्प मेला आयोजना गर्न लागेका छन् । काठमाडौंको भृकुटीमण्डपमा चैत १ देखि ४ सम्म आयोजना हुने मेलामा ८२ स्टल रहने जानकारी दिइएको छ ।
‘फ्लोरिकल्चर एसोसिएसन नेपालले’ पुष्प मेला आयोजना गर्न लागेको हो । 'स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय- २६ औँ फ्लोरा एक्स्पो' नारा लिएर पुष्प मेला गर्न लागिएको हो ।
एसोसिएसनका वरिष्ठ उपाध्यक्ष तथा मेला संयोजक रामबहादुर तामाङका अनुसार मेलामा उत्कृष्ट स्टल, उत्कृष्ट मौसमी फूलबीच प्रतिस्पर्धा गराइनेछ । प्रथम तथा उत्कृष्ट व्यवसायीले नगद तथा विभिन्न पुरस्कार प्रदान गरिनेछ ।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले मेलाको आयोजनाको उद्देश्यबारे भने, 'पुष्प व्यवसाय विकास तथा वृद्धिका लागि पुष्प प्रदर्शनी आयोजना गरिएको हो । यसले देशको विकासमा पनि सहयोग पुग्नेछ ।' मेलामा सधै गुणस्तरीय फूल तथा पुष्प सामग्री राख्दै आएको बताउँदै उनले आगामी दिनमा पनि गुणस्तरमा कुनै कमी हुन नदिने बताए ।
पुष्प व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाको प्रदर्शन पनि गरिने बताइएको छ । उद्यमी, व्यवसायी तथा कम्पनीले उत्पादन गरेको पुष्प तथा पुष्पजन्य वस्तुको राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी बजार विस्तार गर्न, उत्पादन बिक्री गर्न, पुष्प व्यवसायी र पुष्प उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क तथा समन्वय बढाउन, विश्व बजारमा विकास भएका नयाँ-नयाँ उत्पादनलाई सार्वजनिक गर्न मेलाबाट मद्दत पुग्ने मेला आयोजकले जनाएको छ ।
मेलामा विभिन्न प्रजातिका मौसमी फूल, फूल फुल्ने तथा नफुल्ने, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलको गानो, बिउबिजन, ग्रिनहाउस, कृषि औजार, उपकरण, प्याकेजिङका सामग्री, थोपा सिँचाइ प्रविधि, आधुनिक पुष्प खेती प्रविधि, जैविक विषादी, विभिन्न प्रकारका गमला, पुष्प सजावटका सामाग्री प्रदर्शन तथा बिक्री गरिने बताइएको छ ।
मेलामा ६ सय प्रकारका आलकारिक प्लान्ट, पाँच सय प्रकारका फूल तथा फलफूलका बिरुवा, तीन सय प्रकारका सिरेमिक तथा प्लास्टिक गमला, दुई सय प्रकारका कौसी खेतिलाई आवश्यक सामग्री पुष्प प्रदर्शनीमा राखिने जानकारी दिइएको छ ।
मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनी, व्यवसायी तथा विभिन्न संघ संस्थाको सहभागी रहनेछ ।
आयोजकका अनुसार नेपालमा पुष्प व्यवसायले गति लिँदै गएको छ । २०४९ मा फ्लोरिकल्चर एसोसिएसन स्थापना भएको हो । त्यतिबेला करिब ८० वटा मात्रै नर्सरी रहेको एसोसिएसनले जनाएको छ । त्यसपछि फूल खेतीको व्यवसायिक विकास, विस्तार र प्रवर्द्धनले गति लिएको थियो ।
सहरीकरणको विकास र विस्तारसँगै सातवटै प्रदेशका मुख्य सहरमा व्यवसायिक रूपमा पुष्प व्यवसाय बढ्दै गएको एसोसिएसनले जानकारी दिएको छ । 'हरेक वर्ष पुष्प व्यवसायको वार्षिक बृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहँदै आएको छ । हाल ५२ जिल्लामा लगभग दुई सय ६० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ,' एसोसिएसनले भनेको छ ।
हाल नेपालमा करिब पाँच सय ३० नर्सरी, ९० कटफ्लावर उत्पादक, एक सय ५८, पुष्प थोक व्यवसायी ६,२५ इनपुट सप्लायर्स र तीन सय ६५ लुज फ्लावर उत्पादनमा संलग्न रहेको एसोसिएसनले जानकारी दिएको । एसोसिएसनका अनुसार पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ५१ हजार पाँच सयभन्दा बढी जनशक्तिले रोजगारी प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा पुष्प व्यवसायको कारोबार दुई अर्ब ४२ करोड रहेकामा आर्थिक वर्ष ०७७/७८ मा कोभिडका कारण एक अर्ब ६३ करोड भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा विगतको तुलनामा पुष्प व्यवसायमा १९.८६ प्रतिशतले वृद्धि भई पुष्प व्यवसायको कारोबार तीन अर्ब ६८ करोड पुगेको एसोसिएसनले जानकारी दिएको छ । नेपालमा विभिन्न मुलुकबाट करोडौंको पुष्प सामग्री आयात हुँदा न्यून रूपमा निर्यात हुने गरेको एसोसिएसनले जनाएको छ ।
प्रशिक्षार्थी
