२ सय ८३ मेगावाटको अपर तमोर आयोजनाको उत्खनन टीबीएम मेसिनबाट गरिने

ब्लास्टिङको प्रभावबाट घरहरू चर्किएमा वा क्षति भएमा आयोजनाले क्षतिपूर्ति दिने

फाल्गुन २६, २०८१

आनन्द गौतम

Excavation of 283 MW Upper Tamor project will be done by TBM machine

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिकामा निजी क्षेत्रको लगानीबाट निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो २ सय ८५ मेगावाटको अपर तमोर जलविद्युत् आयोजनाको २ सय ८३ मेगावाटको अपर तमोर आयोजनाको उत्खनन टीबीएम मेसिनबाट गरिने भएको छ । फक्ताङलुङ गाउँपालिकाको समन्वयमा बसेको सर्वदलीय, सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो । छलफलमा राजनीतिक दलका पालिका प्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

गाउँपालिका अध्यक्ष राजन लिम्बूका अनुसार पहिलो बुँदामा चैत र वैशाख महिनामा आयोजनाको तर्फबाट खानेपानीका मुहान मापन गरी वडा कार्यालय र गाउँपालिकामा प्रतिवेदन पेस गर्ने र पानीको मात्रामा कम भइ खानेपानी तथा सिँचाइमै कम आएमा अनावृष्टि बाहेक आयोजनाकै तर्फबाट खानेपानी तथा सिँचाइको व्यवस्थापन गर्ने निर्णय भएको छ । यो खानेपानी तथा सिँचाइका सम्बन्धमा भएको निर्णय हो । 

दोस्रो बुँदामा आयोजनाबाट हुने क्षतिपूर्ति सम्बन्धी रहेको छ । आयोजनाको टनेल उत्खनन टीबीएम मेसिनमार्फत गरिने भएकाले ब्लास्टिङ कम हुने तथा ब्लास्टिङ गर्नुपर्ने क्षेत्रका सम्पूर्ण घर तथा जग्गाहरू खरिद गरिसकेकाले बस्तीमा क्षतिको सम्भावना कम रहने छ । यद्यपि ब्लास्टिङको प्रभावबाट घरहरू चर्किएमा वा क्षति भएमा आयोजनाले क्षतिपूर्ति दिने निर्णय गरिएको छ । 

तेस्रो बुँदा रोजगारी सम्बन्धी रहेको छ । यसमा स्थानीय जनताको जीवनस्तर उकास्न आयोजनाको आवश्यकता अनुसार योग्यता, क्षमता, सीप र दक्षताका आधारमा आयोजनाको नीति, नियम, मापदण्ड तथा स्थानीय सरकार र वडाको सिफारिसमा रोजगार प्रदान गर्ने उल्लेख छ । 

चौथो बुँदा भने स्थानीय कृषि उपज खपत सम्बन्धी रहेको छ । यसमा कृषकहरूले दीर्घकालीन रुपमा कृषिजन्य उत्पादन आयोजनालाई आपूर्ति गर्न सकेको खण्डमा आयोजनाले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर खपत गर्ने उल्लेख छ । 

पाँचौं बुँदामा आयोजना क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण गरेर अगाडि बढ्ने उल्लेख छ । छैटौं बुँदामा आगामी चैत २ गते फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमको सिंवामा सरोकार समिति गठन गर्ने उल्लेख छ भने सातौं तथा अन्तिम बुँदामा चैत २ गते गठन हुने समितिले गर्ने निर्णय आयोजनाले कार्यान्वयन गर्दै गएमा सम्पूर्ण कार्यमा सहयोग र समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको छ । 

यो आयोजनाको काममा स्थानीयले अवरोध गर्दै आएका थिए । स्थानीयले सिँचाइ, खानेपानी, आयोजना निर्माण गर्दा घर चर्कने र यो क्षेत्र लिम्बू समुदायको मुन्धुमस्थल भएको आवाज उठाउँदै आएका छन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully