काठमाडौँ — लाजिम्पाटस्थित र्याडिसन होटलमा सेवा शुल्क पुनः प्राप्तिको आन्दोलन सुरु भएको छ । अखिल नेपाल होटल, क्यासिनो तथा रेस्टुराँ मजदुर संघको नेतृत्वमा आइतबारदेखि मजदुर हक तथा अधिकारका लागि जागरण अभियान सुरु गरेको संगठनका उपमहासचिव सुदर्शन तिमल्सिनाले बताए ।
सन् २००६ देखि होटल तथा पर्यटन क्षेत्रका मजदुरहरुले पाउँदै आएको सेवा शुल्कलाई २०७९ माघ ११ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज गरेदेखि संगठनले पुनः प्राप्तिको लागि निरन्तर संघर्ष गर्दै आइरहेको संगठनका इन्चार्ज माधव पाण्डेले बताए । पछिल्लो समय संगठनको नेतृत्वमा काठमाडौं उपत्यकाका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा जागरण अभियान चलाइरहँदा होटल र्याडिसनमा पनि मजदुरहरुले सो संघर्ष तथा जागरण अभियान सुरु गरेका छन् ।
र्याडिसनको कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष कुमार पन्तले चैत १ बाट माइतीघरमण्डलामा हुने धर्ना कार्यक्रममा सबै मजदुरहरुलाई सहभागी हुन आह्वान गरेका छन् । उनले आन्दोलन सरकार वा होटल सञ्चालकहरुविरुद्ध नभई मजदुरहरुको गुमेको अधिकार पुन:स्थापित गर्न भएको प्रस्ट्याए ।
संगठनका केन्द्रीय सचिव अमृता सापकोटाले अदालतले खारेज गरे पनि विधायिकाबाट कानुन बनाएर गुमेको अधिकार पुनः प्राप्ति गर्न सकिने जनाउँदै, त्यसका लागि मजदुरहरुले दबाब दिन जरुरी रहेको धारणा राखिन् ।
संगठनका केन्द्रीय कोषाध्यक्ष तथा र्याडिसन होटल इकाई समिति अध्यक्ष राम पन्तले आफूहरु कार्यरत होटल र्याडिसनमा सेवा शुल्क खारेजीपछि मजदुरहरु थप पीडामा रहेकोले सबैलाई संघर्षमा उत्रन आग्रह गरे ।
संगठनका केन्द्रीय सदस्य तथा र्याडिसन इकाई सचिव रामहरि भण्डारीले सेवाशुल्क खारेजीपछि आफूहरुको दैनिक जीवन गुजारा गर्न पनि कठिन भएकोले जसरी पनि पुनः प्राप्ति गर्नु पर्नेमा जोड दिए ।
एकीकृत समाजवादी निकट नेपाल एकीकृत होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनका र्याडिसन इकाई समिति अध्यक्ष विसनसिंह धामीले जागरण अभियानमा ऐक्यबद्धता जाहेर गर्दै आफूहरु पनि संघर्षमा उत्रने बताए ।
