काबेली–३ को उत्पादन चैत पहिलो सातादेखि

परियोजना निर्माणको काम अन्तिम चरणमा

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Production of Kabeli-3 from the first week of March

ताप्लेजुङ — २१.९३ मेगावाट क्षमताको काबेली–३ जलविद्युत् परियोजनाको उत्पादन चैत पहिलो साताभित्रै सुरु हुने भएको छ । सिरिजंघा गाउँपालिकामा उत्पादन गर्न लागिएको परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

भौतिक संरचना निर्माणको काम सकिइसकेको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले बताए । ‘निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आउँदो चैत पहिलो सातासम्म विद्युत् सुरु गर्ने तयारीमा छौं ।’ यसको निर्माण काबेली हाइड्रोपावर कम्पनीले गर्दै आएको छ । 

चैत मसान्तभित्र सम्पन्न गर्ने गरी २०७९ माघदेखि काम सुरु भएको थियो । सिरिजंघा–५ पेदाङ, वडा ६ मामाङखे र वडा ७ खेबाङमा आयोजनास्थल छ । मामाङ्खे र खेबाङको सिमाना भएर बहने ओथम्मा गहिरी मुहानदेखि ५.१२८ किलोमिटर सुरुङमार्फत विद्युत् गृहमा पुर्‍याइएको छ । यहाँ उत्पादित बिजुली पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको नेपाल विद्युत् प्राधिकरणको १३२ केभीए अमरपुर सबस्टेसनमा जडान गरिनेछ ।

विद्युत् गृहदेखि ३१ वटा टावरमार्फत प्रसारण लाइनमा बिजुली पुर्‍याइने आयोजनाका वरिष्ठ इन्जिनियर सिद्धान्त थपलियाले जनाए । आयोजनाको कुल लागत ४ अर्ब २८ करोड ५० लाख रहेको ढुंगानाले बताए । 

एनएमबी, प्रभु र नबिल बैंक लिमिटेडको साझेदारीमा विद्युत् उत्पादन गरिएको हो । यही खोलाबाट यसअघि १३.५ मेगावाटको सुपर काबेली ‘ए’ र १२ मेगावाट क्षमताको सुपर काबेलीबाट उत्पादन सुरु भइसकेको छ ।

कान्तिपुर

Link copied successfully