बुटवलमा प्रसारण लाइनको मोनोपोल विस्तार तीव्र

सडकका बीचमा रहेका चार टावर हटाएर राखिने मोनोपोलको जग निर्माण जारी

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Monopole expansion of transmission line in Butwal accelerated

काठमाडौँ — बुटवल उपमहानगरपालिका–११ स्थित कालिकापथको योगिकुटी चोकदेखि होराइजन चोकसम्मको सडकखण्डमा प्रसारण लाइनको मोनोपोल राख्ने काम धमाधम भइरहेको छ ।

बुटवलबाट मोतीपुरतर्फको १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर (चार खुट्टा भएको) लाई हटाएर योगिकुटी–होराइजन चोक सडक खण्डमा मोनोपोल (एउटा मात्र खुट्टा) राख्न लागिएको हो । 

करिब एक किलोमिटर सडक खण्डको बीचमा रहेका चार टावरलाई हटाएर राखिने मोनोपोलको जग (फाउन्डेसन) निर्माण भइरहेको छ । फाउन्डेसनको काम १५ दिनभित्र सकिनेछ । मोनोपोल निर्माणस्थलमा आपूर्ति भइसकेको छ । 

उक्त सडक खण्डमा ३०/३० मिटरका दुई र ३२/३२ मिटरका दुई मोनोपोल जडान गरिनेछ । सञ्चालनमा रहेको प्रसारण लाइनलाई करिब १५ दिन बन्द (सटडाउन) गरेर मोनोपोल जडान गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त खण्डमा रहेका पुरानो टावर हटाइनेछ । तार (कन्डक्टर) पनि नयाँ प्रयोग गरिने प्राधिकरणले जनाएको छ । 

निर्माणस्थलको अनुगमन गरी गर्मी सुरु हुनुअघि नै मोनोपोल जडान गरिसक्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आग्रह गरे । गर्मी सुरु भएपछि बुटवल क्षेत्रमा बिजुलीको माग बढ्ने हुँदा प्रसारण लाइन सटडाउन दिन समस्या हुने भएकाले त्यसअघि नै काम सक्न घिसिङले बुटवल ग्रिड महाशाखालाई निर्देशन दिए ।

सडक र प्रसारण लाइन (तार) बीचको काम हुँदा सडकमा ठूला गाडीले लाइन छोए हुन सक्ने दुर्घटना अन्त्य गर्न योगिकुटी–होराइजन चोक सडकखण्डमा मोनोपोल राख्न लागिएको हो । हाल सडक र लाइनबीचको दूरी ६ मिटरभन्दा कम छ । मानोपोल राखिएपछि सडक र लाइनबीचको दूरी करिब नौ मिटर हुनेछ । प्रसारण लाइनको टावर हाल बीचमा हुँदा उक्त सडक खण्ड साँघुरो छ । हालको टावरको बेसमेन्टको व्यास करिब ८ मिटर छ । मोनोपोलको बेसमेन्टको व्यास करिब साढे दुई मिटर मात्र हुनेछ । यसले गर्दा सडक पनि फराकिलो हुने र मोनोपोल राखिएपछि हालको प्रसारण लाइनको मार्गधिकार घट्ने भएकाले दायाँबायाँका घर पनि थप सुरक्षित हुनेछन् ।

मोनोपोल निर्माणका लागि ३ करोड ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणको लगानीमा निर्माण भइरहेको मोनोपोलको सम्पूर्ण काम अगामी जेठभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

कान्तिपुर

Link copied successfully