'प्रोत्साहित हुनुपर्नेमा उल्टै निरुत्साहित र दण्डित गर्ने प्रयासबाट मर्माहत छु'

घाटामा रहेको संस्थालाई नाफामा लैजाँदा र मुलुकमा ९९ प्रतिशत विद्युतीकरण गर्दा पनि दण्डित गर्न खोजियो

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

”I am saddened by the efforts to discourage and punish what should be encouraged”

काठमाडौँ — नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई प्रोत्साहित गर्नको साटो निरुत्साहित र दण्डित गर्न खोजिएको बताएका छन् ।

मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत घिसिङलाई किन नहटाउने भनेर सोधेको तीनदिने स्पष्टीकरणको जवामा घिसिङले आफू मर्माहत भएको लेखेका छन् ।

घिसिङले आइतबार ऊर्जा मन्त्रालयमार्फत मन्त्रिपरिषद्लाई बुझाएको जवाफमा घाटामा रहेको संस्थालाई नाफमा लैजाँदा र मुलुकमा ९९ प्रतिशत विद्युतीकरण गर्दा पनि दण्डित गर्न खोजिएको लेखेका छन् । 'मैले कार्यकारी निर्देशकको नेतृत्व लिएपछि लोडसेडिङ अन्त्य भएको, ९९ प्रतिशत विद्युतीकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्‍याएको, प्रभावकारी रुपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको, विद्युत उत्पादन, प्रशारण र वितरण क्षमतामा चार गुणा बढीले वृद्धि गर्न सफल भएको, विभिन्न वर्गका नागरिकसमेतलाई सहुलियत महसुल दरमा विद्युत सेवा प्रदान गर्न नेतृत्व गरेवापत प्रोत्साहित हुनुपर्नेमा उल्टै निरुत्साहित र दण्डित गर्ने प्रयास भएबाट म अत्यन्त मर्माहत भएको छु,' कुलमानको जवाफ छ । 

घिसिङले मन्त्रिपरिषद्को निर्णयअनुसार जवाफ दिएकाले आफूलाई पदबाट हटाउने लगायतका पत्रमा उल्लेख गरिएका कुनै पनि कारबाही हुन नपर्ने लेखेका छन् । 

ऊर्जामन्त्री दीपक खड्काले पूर्वाग्रह राखेर कारबाहीको कदम चालेको र मन्त्रिपरिषद्लाई पनि गुमराहमा राखेको घिसिङले बताएका छन् । 

कान्तिपुर

Link copied successfully