खानेपानी र संघीय मामिला मन्त्रालयसँग नयाँ बजेट निर्माणसम्बन्धी छलफल

३ करोड रुपैयाँका भन्दा साना योजना प्रस्ताव नगर्न अर्थमन्त्रीको निर्देशन

फाल्गुन २५, २०८१

कान्तिपुर संवाददाता

Discussions with the Ministry of Water and Federal Affairs regarding the creation of a new budget

काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेटका लागि ३ करोड रुपैयाँका भन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धी खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टाछुट्टै छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमबाट बाहिर आउन आग्रह गरे । पूर्वतयारीसम्पन्न ठूला रूपान्तरणकारी एव राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्नुपर्नेमा उनको जोड थियो ।

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा उनीहरुको भूमिका बढाउनु पर्ने र एकपटकका लागि विउ पुँजी (सिडमनी) दिएर भएपनि प्रदेश र  स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने पनि बताए ।  

बजेट निर्माणसम्बन्धी बैठकमा खानेपानी मन्त्री प्रदीप यादव, संघीय मामिला मन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारी, अर्थसचिव, राजस्व सचिव,  खानेपानी सचिव, संघीय मामिला सचिव, विभागीय प्रमुखलगायत सहभागी थिए । आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणसम्बन्धमा अर्थ मन्त्रालयले यसअघि भौतिक, सहरी, ऊर्जा, स्वास्थ्य र उद्योग मन्त्रालयसँग छलफल गरिसकेको छ ।

कान्तिपुर

Link copied successfully