बर्खामा यातायात सहज बनाउन अस्थायी मर्मतको काम पनि तीव्र पारिँदै
काठमाडौँ — गत असोजमा आएको बाढीले क्षति पुर्याएको बीपी राजमार्ग स्थायी रूपमा निर्माण गर्ने गरी आगामी साता ठेक्का आह्वान गरिने भएको छ । त्यसका लागि सडक विभागबाट खरिद गुरुयोजना स्वीकृत भइसकेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । स्थायी निर्माणका लागि ठेक्का गर्नुअघि नै अस्थायी मर्मतको काम भने थालिसकिएको छ ।
स्थायी निर्माणका लागि आगामी मंगलबारभित्र ठेक्का आह्वान गर्ने गरी तयारी गरिएको सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशले बताए । ‘लागत अनुमान टुंगिसकेको छ,’ उनले भने, ‘अहिले अस्थायी मर्मतको काम तीव्र पारेका छौं, ठेक्का सम्झौता भएपछि स्थायी निर्माण अघि बढाउँछौं ।’
बर्खामा यातायात अवरुद्ध हुन नदिने गरी काम भइरहेको योगेशको भनाइ छ । ठेक्का सम्झौता भएर निर्माण व्यवसायी परिचालन गर्न कम्तीमा तीन महिना लाग्ने उनले सुनाए । ‘बर्खाअघि नै ठेक्का सम्झौता भइसक्छ, फेरि बर्खाको असर कहिलेबाट पर्छ, त्यहीअनुसार ठेक्का लिनेले स्थायी निर्माणको काम थाल्नेछन्,’ उनले भने, ‘त्यसैले हाम्रो उद्देश्य बर्खाअघि नै स्थायी निर्माणको काम थाल्नेछ ।’
दुई वर्षभित्र निर्माण सक्ने गरी ठेक्का आह्वान गरिने योगेशले बताए । ‘काभ्रे र सिन्धुली खण्ड गरेर २८ किलोमिटरमा दुई लेनको
स्ट्यान्डर्डअनुसार सडक निर्माण गर्छौं,’ उनले भने, ‘त्यसका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति पाइसकेका छौं ।’ बाढीले क्षति गरेको भकुन्डेबेंसीदेखि नेपालथोक सडक खण्डको स्थायी रूपमा निर्माण गरिनेछ, जसमा सिन्धुलीतर्फ साढे दुई किमि पर्ने र बाँकी सबै काभ्रे खण्डमा पर्ने उनले जनाए । ‘काभ्रे र सिन्धुलीको सीमा क्षेत्र बर्खे खोला हो,’ उनले भने, ‘दुवै खण्डमा स्थायी सडक निर्माण गर्ने गरी स्रोत सहमति आएको छ ।’
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले एउटा खण्डमा काम गर्ने चाहना देखाए पनि उनीहरूका तर्फबाट निर्णय भइनसकेको योगेशले सुनाए । ‘गर्ने नै भए नयाँ प्रविधिमा काम गर्न सुझाव दिएका छौं, त्यो पनि अनुदान सहयोगमै गर्न भनेका छौं,’ उनले भने, ‘उनीहरूले नयाँ प्रविधिका पुल र सुरुङमध्ये कुनै एउटा निर्माण गरिदिए प्रविधि हस्तान्तरण पनि हुने थियो ।’ यसबारे सामान्य छलफल भएको र कार्यालयले तयारी गर्दासम्म जाइकाबाट निर्णय आए ठेक्का आह्वान गर्न एक–दुई दिन बढी समय लाग्ने उनको भनाइ छ ।
‘अब धेरै समय पर्खिन गाह्रो छ,’ उनले भने, ‘तयारी गर्दासम्म जाइकाले निर्णय गरे समस्या भएन, नभए ठेक्का प्रक्रियाको काम टुंग्याउँछौं ।’ गत असोजमा आएको बाढीले क्षति गरेको सडक निर्माणका लागि स्रोतको समस्या भएको थियो । स्रोत नपाउँदा ठेक्का प्रक्रियाको काम अघि बढ्न सकेको थिएन । अर्थ मन्त्रालयले बीपी राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर गत फागुन ६ मा स्रोत सहमति दिएसँगै स्थायी निर्माणको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
बीपी राजमार्गका लागि ८ अर्ब ५० करोड रुपैयाँ माग गरिएको थियो । उक्त राजमार्ग स्थायी रूपमा निर्माण र मर्मत गर्नलाई सडक डिभिजन भक्तपुर र खुर्कोटमार्फत रकम माग गरिएको थियो । यसअनुसार भक्तपुर खण्डमा ७ अर्ब ५० करोड र खुर्कोट खण्डलाई १ अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको हो ।
काभ्रे भन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढीपहिरोले बढी क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । क्षति भएको सबै खण्ड गरेर २८ किमि सडकलाई चार वटा प्याकेजमा विभाजन गरेर ठेक्का गर्न लागिएको हो, जसमा काभ्रेमा तीन र सिन्धुलीमा एउटा प्याकेज पर्नेछ ।
बाढीले क्षति गरेको अरनिको राजमार्ग, मेची राजमार्ग, बिब्ल्याटे–माईपोखरी–सन्दकपुर सडक, कान्ति राजमार्ग, चरिकोट–सिंगटी सडक, सिद्धार्थ राजमार्ग, खुर्कोट–मिल्टी र तामाकोशी–मिल्टी सडक स्थायी रूपमा निर्माण गर्न बजेट माग गरिएको थियो । अर्थबाट १८ अर्ब ८८ करोड २० लाख रुपैयाँ स्रोत सहमति सडक विभागले पाएको हो । राजमार्गतर्फ १५ अर्ब ८३ करोड १० लाख, पुलतर्फ १ अर्ब ९० करोड १० लाख र वैकल्पिक सडकतर्फ १ अर्ब १५ करोड रुपैयाँ स्रोत सहमति आएको हो । त्यहीअनुसार ठेक्का प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
असोजको बाढीले क्षति पुर्याएका सडकको ठेक्का व्यवस्थापन फागुन मसान्तभित्र टुंग्याउने गरी नै काम भइरहेको सडक विभागको भनाइ छ । त्यसका लागि सबै सडकको खरिद गुरुयोजना मागिएको छ । पुलका लागि ठेक्का सम्झौता पहिल्यै गरिए पनि बर्खापछि मात्र निर्माणको काम थालिने सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।
