आईएमई ग्रुपको २ अर्ब लगानीमा कागज उद्योग सञ्चालन

प्रधानमन्त्री ओलीले गरे उद्घाटन, दैनिक ७५ मेट्रिक टन कागज उत्पादन हुने

फाल्गुन २३, २०८१

कान्तिपुर संवाददाता

Operation of paper industry with IME Group's 2 billion investment

महोत्तरी — आईएमई ग्रुपको लगानीमा महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा स्थापना भएको नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ताम्रपत्र अनावरण गर्दै उद्योगको उद्घाटन गरे । 

उद्योगमा २ अर्ब रुपैयाँ लगानी रहेको आईएमई ग्रुपले जनाएको छ । उद्योगले लेखन तथा छपाइका लागि दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्नेछ । पहिलो चरणमा फोटोकपी पेपर र कापी–किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको छ । शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्ने आईएमई ग्रुपले जनाएको छ । 

उद्योग सञ्चालनसँगै प्रयोग भइसकेका कागजबाट नेपालमै नयाँ कागज उत्पादन गर्न सकिने जनाइएको छ । जसका कारण कागज आयातमा कमी आउने ग्रुपले उल्लेख गरेको छ । विद्यालयको पाठ्यपुस्तक छपाइ गर्दै आएको जनक शिक्षा सामग्री केन्द्रलगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्ने कम्पनीको भनाइ छ ।

उद्योगले प्रत्यक्ष रूपमा ३०० भन्दा बढी र अप्रत्यक्ष रूपमा हजारौंका लागि रोजगारीको अवसर सिर्जना गरेको आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी गराए । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलालाई अवसर दिएको उनले बताए । 

कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजानुको विकल्प नभएको भन्दै औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने बताए । यसका लागि प्रदेश सरकार पनि अघि सर्नुपर्ने उनको भनाइ थियो । निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको बताउँदै ओलीले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सिर्जना हुने धारणा राखे । ‘आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिई आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास छ,’ उनले भने । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकामा अब त्यो अवस्था नरहने बताए । उद्योग स्थापनालाई नेपालको औद्योगिक यात्रामै नवजागरणका रूपमा लिएको उनको भनाइ थियो । नयाँ उद्योग सञ्चालनलाई मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दिगो औद्योगिक विकासप्रतिको प्रतिबद्धताका रूपमा लिन उनले आग्रह गरे । 

‘उद्योग बन्द हुने, लगानीकर्ता पलायन हुने र युवा खाडीमा काम गर्न जानुपर्ने बाध्यता छ । त्यसलाई कम गर्न नयाँ उद्योग खोल्दै आयात प्रतिस्थापन गर्ने र औद्योगिक विकास नवजागरण सिर्जना गर्न आईएमई ग्रुपको यस्तै उत्पादनमूलक उद्योगमा भएको प्रवेश महत्त्वपूर्ण पाइला सावित हुनेछ,’ ढकालले भने ।

पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुन सहयोगीसिद्ध हुने विश्वास लिएको उनले उल्लेख गरे । मुलुकको अर्थतन्त्र सुधार र विकासका लागि आवश्यक नीति तथा कानुन निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरू सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि ढकालको भनाइ छ ।

कान्तिपुर

Link copied successfully