चीनबाट लसुन आयात गरी नेपाललाई ट्रान्जिट बनाएर भारत पुर्याउँछ गिरोह
विराटनगर — चीनबाट आयात हुने लसुनको मूल्य नेपालमा अकासिएपछि यसको तस्करी तीव्र बढेको छ । कोशी प्रदेशका झापा, मोरङ, सुनसरीलगायत सीमा नाका लसुन तस्करीका मुख्य रुट हुन् । नेपालमा लसुनको मूल्य प्रतिकिलो करिब ४ सय रुपैयाँ पुगेको छ । जब कि भारतमा प्रतिकिलो ४५० रुपैयाँभन्दा बढी छ ।
मूल्य अन्तरको फाइदा उठाउँदै तस्कर गिरोहले चीनबाट लसुन आयात गरी नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ तस्करी गरिरहेको पाइएको छ ।
झापाको पूर्वी र दक्षिणी सीमा नाका, मोरङको दक्षिणी नाका र सुनसरीका दक्षिणी खुला सिमानाबाट तस्करी बढ्दै गएको छ । स्थानीयका अनुसार सुरक्षाकर्मीकै मिलेमतोमा खुलेआम रूपमा लसुन भारततर्फ पठाइन्छ । प्रहरीको संलग्नता रहेको आरोप लागे पनि कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले लसुन तस्करीमा प्रहरीको कुनै संलग्नता नरहेको दाबी गरे । ‘यस्तो अवैध धन्धामा प्रहरी संलग्न हुँदैन, हुनै सक्दैन,’ उनले भने, ‘यो निराधार आरोप हो ।’
झापादेखि सुनसरीसम्म करिब अढाई सय किलोमिटर खुला सिमाना छ, जसकारण सुरक्षाकर्मीलाई तस्करीलगायत गतिविधि नियन्त्रणका लागि चुनौती हुने गरेको छ । ‘तर तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रणका लागि हामी काउन्टर पार्टसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने ।
नेपाल–भारतबीचको खुला सिमानाले तस्करीलाई सहज बनाएको छ । मूल्य असमानता, आपूर्तिको असन्तुलन र कमजोर सीमा सुरक्षा संयन्त्र तस्करी बढ्नुका मुख्य कारण हुन् । ‘नेपालको तुलनामा भारतमा लसुनको मूल्य बढी छ, त्यसैले चोरी नाकाबाट निरन्तर आपूर्ति भइरहेको छ,’ एक व्यापारीले भने ।
तस्कर समूहहरूले सीमामा रहेका सुरक्षाकर्मीलाई प्रभावमा पारेर लसुन ओसारपसार गरिरहेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै निकायलाई प्रभावमा पारेर तस्करी भइरहेको छ । ‘सुरक्षाकर्मीसँग लाइन मिल्यो भने दिउँसै पनि लसुन पारि पठाउँछौं,’ एक व्यापारीले भने ।
चीनबाट कन्टेनर वा ट्रकमा ल्याइने लसुन सीमावर्ती गोदाममा भण्डारण गरिन्छ । खासगरी रातको समयमा भारततर्फ लसुन ओसार्ने गरिन्छ । विशेषगरी भारतको पानीट्यांकीका साना व्यापारीलाई प्रयोग गरेर लसुन तस्करी भइरहेको छ, जसमा केही नेपालीहरूको पनि संलग्नता छ ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब साढे ६ अर्बको लसुन आयात भएको भन्सार विभागको तथ्यांक छ । तर आयातित लसुनको ठूलो हिस्सा तस्करीमार्फत भारततर्फ पठाउने गरिएको छ, जसले गर्दा नेपाली उपभोक्ताले लसुन महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । ‘चीनबाट आयातित लसुन स्वदेशमै खपत गर्ने हो भने उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने थिएन,’ झापाका उपभोक्ता श्यामप्रसाद दाहालले भने, ‘आयात गरेर भारत पठाइँदा नेपाली उपभोक्ता चर्को मारमा परेका हुन् ।’
