महोत्तरीमा कागज कारखाना सञ्चालन

फाल्गुन २२, २०८१

कान्तिपुर संवाददाता

Operation of Paper Factory at Mahottari

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालको लगानीमा महोत्तरीमा स्थापित कागज कारखाना आजदेखि सञ्चालनमा आएको छ ।

‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रालि’ ले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी रहेको छ । महोत्तरीको गौशाला नगरपालिका १ स्थित रामनगरमा रहेको यस उद्योगमा अरु नेपाली लगानीकर्ताहरुको पनि लगानी छ ।

२०७८ मा शिलान्यास भएको यो उद्योगले निर्माण प्रक्रिया सकिएर २०८१ पुसदेखि उत्पादन सुरु गरिसकेको छ । अध्यक्ष ढकालले उद्योगले आयात प्रतिस्थापन गर्दै स्वदेशमै ठूलो रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको बताएका छन् । 

नेपालमा वार्षिक झन्डै डेढ लाख मेट्रिक टन कागज खपत भइरहेको छ । नेपालमा कागज उद्योग नहुँदा अहिले सबै कामका लागि आवश्यक कागज आयात गर्नुपर्ने अवस्था रहेकाले निजी क्षेत्रले लगानी गरेर अगाडि बढाउन लागिएको बताए । 

उनले नेपालमा लगानीको वातावरण नरहेको भन्ने भाष्य चिर्न पनि कागज उद्योग महत्वपूर्ण हुने बताए । विद्यालय,क्याम्पसमा लेख्ने–पढ्ने कापीदेखि फोटोकपी, ट्वाइलेट र टिस्यु पेपरसम्ममा समेत नेपाल परनिर्भर अवस्थामा छ । 

तर अब उद्योग सञ्चालनमा आएसँगै पहिलो वर्षमै नेपालका लागि आवश्यकमध्ये करिब ४० प्रतिशत कागज नेपालमै उत्पादन हुने कम्पनीको दाबी छ । उद्योगले स्वदेशी कच्चापदार्थ र जनशक्ति परिचालन गरी स्वदेशमै उच्च गुणस्तरीय कागज उत्पादन गर्ने दाबी गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully