धनगढी — सुदूरपश्चिमको प्रमुख भन्सार नाका कैलालीको त्रिनगरस्थित भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको सात महिनामा वार्षिक लक्ष्यको ४१ प्रतिशत मात्र राजस्व संकलन भएको छ ।
चालु आर्थिक वर्ष ०८१/८२ मा ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएकामा सात महिना साउनदेखि माघसम्म ४ अर्ब ६१ करोड ४३ लाख २ हजार रुपैयाँमात्र राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।
कैलाली भन्सार कार्यालयका अनुसार संकलित राजस्वमा भन्सार महसुल १ अर्ब ७५ करोड २५ लाख ७० हजार, मूल्य अभिवृद्धि कर १ अर्ब ७२ करोड ५१ लाख ३ हजार, अन्तशुःल्क १२ करोड ५० लाख २० हजार र अन्य कर १ अर्ब १ करोड १६ लाख ९ हजार संकलन भएको छ । वार्षिक लक्ष्यअन्तर्गत भन्सार महसुल ४ अर्ब ६७ करोड ९३ लाख ८० हजार, मूल्य अभिवृद्धि कर ३ अर्ब ९१ करोड ६० लाख ५८ हजार, अन्तशुःल्क २९ करोड ३० लाख १ हजार र अन्य कर २ अर्ब २७ करोड ४१ लाख ९१ हजार ११ अर्ब १६ करोड २६ लाख ३० हजार राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।
कार्यालयले हरेक महिनाको बेग्लाबेग्लै लक्ष्य निर्धारण गरेको छ । जसअन्तर्गत सात महिनाको लक्ष्यमा ७४.६६ प्रतिशत राजस्व संकलन भएको जनाएको छ । भन्सार कार्यालयले साउनमा ६९.३३, भदौमा ५९.२८, असोजमा ७६.७५, कात्तिकमा ६९.८१, मंसिरमा ९३.५३, पुसमा ७२.३३ र माघमा ८२.१८ प्रतिशत राजस्व संकलन भएको जनाएको छ ।
कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमिल्सिनाले बजारमा उपभोग्य वस्तुको माग तथा खपत घटेर आयात पनि घटेकाले राजस्व संकलन पनि न्यून हुन गएको बताए । ‘लक्ष्य नै महत्त्वाकांक्षी राख्यौं । विगतका वर्षहरुको यही अवधिको तुलना गर्दा त धेरै निरासाजनक अवस्था भने होइन,’ कार्यालय प्रमुख तिमिल्सिनाले भने, ‘चोरी पैठारी गरेर राजस्व छलीका कारण पनि राजस्व संकलनमा गिरावट आएको हो ।’
गत आर्थिक वर्ष ०८०/८१ को पुस मसान्तसम्म ५ अर्ब ६२ करोड ४८ लाख ४८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिइएमा ३ अर्ब ६५ करोड ६१ लाख ५३ हजार संकलन भएको अभिलेख छ ।
कैलाली भन्सारले विगत ५ वर्षदेखि निरन्तर निर्धारित राजस्व संकलनको लक्ष्य पूरा गर्न सकेको छैन । आर्थिक वर्ष ०७७/७८ देखि राजस्व संकलनको वार्षिक लक्ष्य पूरा हुन नसकेको हो । आर्थिक वर्ष ०७९/८० मा वार्षिक १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८ अर्ब २९ करोड ६३ लाख ५ हजार (६७.४१ प्रतिशत) मात्रै राजस्व संकलन भएको थियो ।
कार्यालय प्रमुख तिमिल्सिनाले उत्पादन र आयातको सम्भाव्यता अध्ययन नगरी लक्ष्य निर्धारण गर्दा राजस्व संकलन लक्ष्यमा पुग्न नसकेको विगतको अनुभव रहेको औंल्याए । आर्थिक गतिविधि घटेको उनले बताए । सुदूरपश्चिममा गरिबीको सूचकांकमा रहेको जनसंख्या उच्च छ । आम्दानीको स्रोत अनुसार उपभोग हुने भएकाले आयातमा ह्रास आउने गरेको कार्यालय प्रमुख तिमिल्सिनाको भनाइ छ । साथै विगतदेखि नै राजस्व छलीको परम्परालाई घटाउन नसकिएका कारण पनि राजस्व संकलनको वार्षिक लक्ष्य पूरा गर्न कठिन भइरहेको उनको भनाइ छ ।
