काठमाडौँ — जहाज अवतरणका लागि मौसम प्रतिकूल भएपछि छेन्दुबाट आएको एयर चाइनाको जहाज बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेर भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट भएको छ ।
मौसम खराबका कारण काठमाडौंमा अन्तर्राष्ट्रिय जहाज अवतरण हुन नसकेर भैरहवा पुगेको यो पहिलो घटना भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
‘बुधबार बेलुकी जहाज अवतरणका लागि हावाको गति अनुकूल नभएकाले नेपाली आकाशमा पसिसकेका मलेसिया, भारत, कतार र मध्यपूर्वबाट आएका जहाज नेपालबाहिर डाइर्भट भए तर चिनियाँ जहाजले नेपालभित्रै भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल रोज्यो । यो पहिलो पटक हो,’ महाप्रबन्धक निरौलाले कान्तिपुरसँग भने । उनका अनुसार, हावाको गति र प्रतिकूल मौसमका कारण दोहोबाट आएको कतार एयरवेजको जहाज बंगलादेशको ढाका डाइभर्ट भएको थियो ।
त्यस्तै, दिल्लीबाट आएको इन्डीगो दिल्ली नै फर्किएको थियो । मध्यपूर्वबाट आएको एयर अरेबिया भारतको बनारस फर्किएको थियो ।
मलेसियाबाट आएको मालिन्दो कोलकाता पुगेको थियो । २०७९ जेठमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको हो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले उक्त विमानस्थल संचालनमा आएपछि काठमाडौंबाट डाइर्भट भएको अन्तर्राष्ट्रिय वायुसेवाको जहाज पहिलोपटक त्यहाँ अवतरण भएको बताए ।
विदेशी विमान भैरहवामा डाइभर्ट हुँदा उक्त विमानस्थलले अतिरिक्त आम्दानी गर्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल फ्लाई दुबई, जजिरा, थाई एयर एशिया र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको अनुमति लिएका छन् ।
