काठमाडौँ — नेपाललाई हङकङ हुँदै अस्ट्रेलिया र जापान लगायतका मुलुकसँग जोड्दै आएको क्याथे प्यासिफिक एयरलायन्सले सातै दिन उडान गर्ने भएको छ ।
क्याथेले मंगलबार काठमाडौंमा एक कार्यक्रममार्फत पहिलोपटक सातै दिन उडान गर्ने घोषणा गरेको हो । यसअघि यसले सातामा ५ दिन हङकङ–काठमाडौं उडान गर्दै आएको थियो । यसले यो रुटमा वाइडबडी विमानबाट सेवा दिँदै आएको छ । यो रुटमा नेपाल वायुसेवा निगमले सातामा दुई दिन उडान गर्छ ।
थप उडानले नेपाली यात्रुहरुलाई सहुलियत टिकट प्राप्त हुने तथा हङकङ र बाहिरका गन्तव्यहरुका लागि पनि सरल हवाई कनेक्टीभीटी हुने छ । क्याथेको दक्षिण एशिया, मध्यपूर्व र अफ्रिकाका क्षेत्रीय महाप्रबन्धक राकेश राईकारले क्याथेको नेपाल उडान यस क्षेत्रकै लागि मूल्यवान भएको भन्दै सन् २०२५ यता नयाँ अवसरसहित क्याथे उडानमा संलग्न हुने बताए ।
पछिल्लोपटक क्याथेसँग अत्यधिक यात्रु तथा कार्गो सेवामा संलग्न नेपाली व्यवयासीहरुलाई क्याथेले कार्यक्रममा पुरस्कृत गरेको थियो । जसमा ओशो वर्ल्ड ट्राभल, बोन ट्राभल एण्ड टुर्स, सेभेन स्टार इन्टरनेसनल, सीलिंक र प्रभास ट्राभल एण्ड टुर्स प्रालि थिए । त्यस्तै कार्गोतर्फ उत्कृष्ट कारोबार गर्ने पायोनियर, सांग्रीला इन्टरनेसनल, जीएमके, हिमालयन र राइजिङ स्टार कार्गो थिए ।
