सात महिनामा साढे १४ हजार बढीले गरे निकुञ्ज अवलोकन

फाल्गुन १९, २०८१

कमल पन्थी

More than 14,500 people visited the park in seven months

बर्दिया — पाटे बाघका लागि ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्जमा विगत केही वर्षयता आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको माघसम्म आन्तरिक र विदेशी गरी साढे १४ हजार बढीले बर्दिया निकुञ्जको अवलोकन गरेका छन् ।

निकुञ्जका अनुसार १४ हजार ७ सय ९४ जना पर्यटकले अवलोकन भ्रमण गरेका छन् । तीमध्ये १० हजार ४ सय ३० जना आन्तरिक पर्यटक रहेका छन् भने सार्क मुलुकबाट ७ सय ९ र अन्य मुलुकबाट ३ हजार ३५५ जनाले अवलोकन गरेको निकुञ्जले जनाएको छ । 

निकुञ्जमा केही वर्षयता पर्यटक आगमन बढ्दै गएको छ । बर्दिया निकुञ्जका अनुसार आव ०७८/०७९ मा १६ हजार २ सय ९७, आव ०७९/०८० मा २४ हजार ३ सय ९८ र आव ०८०/०८१ मा २६ हजार १ सय ३१ पर्यटकले अवलोकन गरेका थिए । निकुञ्ज प्रवेश गर्न आउने आन्तरिक पर्यटकले १ सय,सार्कका ७ सय ५० र विदेशी पर्यटकका लागि १ हजार ५ सय शुल्क लाग्ने गरेको छ । 

बर्दिया निकुञ्जमा आउने अधिकांश पर्यटकको बाघ हेर्नकै लागि आउने वरिष्ठ प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । ‘निकुञ्जमा १ सय २५ बाघ छन्, १ सय २० हात्ती रहेको अनुमान छ । गैडा ३८ वटा छन् । यीमध्ये कतीपय गैंडा सिमावर्ती भारतको कतरनिया वन्यजन्तु आरक्षमा पुगेका छन्,’ उनले भने ।

निकुञ्जबाहिर साना–ठूला गरी ३० भन्दा बढी होटल छन् । झण्डै २० जतिको संख्यामा रहेका डल्ला होमस्टे पर्यटकको रोजाइमा पर्छन् । यस बाहेक यहा आउने पर्यटकले निकुञ्ज हातामा रहेको गोही, घडीयाल प्रजनन केन्द्र, थारु संग्राहलय, दृटिविहीन गैंडा र समस्याग्रस्त बाघ थुनिएको खोर बाहिरबाट अवलोकन गर्ने गरेका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully