राष्ट्रिय प्रसारण लाइनमा जोडियो सुपर कावेली

फाल्गुन १६, २०८१

आनन्द गौतम

Super Kaveli was added to the national broadcasting line

ताप्लेजुङ — सिरिजंगा गाउँपालिकामा निर्माण भएको १२ मेगावाट क्षमताको सुपर काबेली जलविद्युत आयोजनाको बिजुली बिहीबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हिलटन हाइड्रो इनर्जी लिमिटेडद्वारा उत्पादित बिजुली पाँचथरको अमरपुर सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । जुन १३२ केभी प्रसारण लाइनको अमरपुरबाट दुबीचौरमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेसनमा समाहित गरिन्छ । यो काबेली नदीबाट उत्पादित बिजुली हो ।

२०७९ पुस २५ बाट सुरु भएको यो आयोजनाको निर्माण अवधि २०८१ चैत १० सम्म थियो । एक महिनाअगावै उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले बताए । आयोजनाको कुल लागत २ अर्ब १४ करोड ३८ लाख रहेको छ ।

आयोजनाको कुल लागतमध्ये ७५ प्रतिशत एनएमबी बैंक लिमिटेडको अगुवाइमा राष्ट्रिय वाणिज्यलगायत बैंकको लागत साझेदारी छ । आयोजनाको इन्टेक सिरिजंगा गाउँपालिका–८ याम्फुदिनमा र विद्युत गृह (पावर हाउस) सिरिजंगा–७ खेवाङको ओथाममा छ ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully