काठमाडौँ — सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखन थालेको छ । यसका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ ।
समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल छन् । सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तीर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल छन् ।
समितिले बजेटले सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजना, कार्यक्रमको प्राथमिकीकरणमा सहजीकरण गर्ने संयोजक नेपालले बताए । बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी रहेको उनको भनाइ छ ।
यसैबीच, अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगबाट स्रोत समितिको निर्णयबमोजिम प्राप्त बजेटको सीमाभित्र रहेर चालु, पुँजीगत, वित्तीय व्यवस्था तथा अन्तरसरकारी वित्त हस्तान्तरण, मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ । आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गतेसम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन पठाउने व्यवस्था छ ।
अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपुरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र ससर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयलाई उपलब्ध गराएको छ ।
राष्ट्रिय गौरवका आयोजना र मुख्य मुख्य आयोजनाका लागि बजेट एयरमार्क गरी पठाइएको छ ।
बजेट मार्गदर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनालाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवं लगानी ढाँचा सुनिश्चित भएका आयोजना मात्र प्रस्ताव गर्ने लगायतका विषय समावेश छन् ।
