अब मस्यौरा र ‘रोल्ड ओट्स’ का लागि पनि मापदण्ड

उत्पादन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण, ढुवानीमा स्वच्छता र गुणस्तर कायम गर्न नयाँ नियम

फाल्गुन १५, २०८१

राजु चौधरी

Now the standard for Masyaura and 'Rolled Oats' as well

काठमाडौँ — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्य खाद्य वस्तुकै जसरी अब मस्यौरा र ‘रोल्ड ओट्स’ को पनि गुणस्तर मापदण्ड तोक्ने तयारी गरेको छ । बजारमा हुने अनुगमनलाई प्रभावकारी बनाउन विभागले गुणस्तर मापदण्ड तोक्न लागेको हो ।

अनुगमनका क्रममा गुणस्तरहीन मस्यौरा र  ‘रोल्ड ओट्स’ बिक्री वितरण भइरहेको पाइएपछि विभागले यी खाद्यवस्तुलाई पनि मापदण्ड बनाएर कानुनी दायरामा ल्याउन लागेको हो ।

खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको तेस्रो बैठकले मस्यौरा र ओट्सको गुणस्तरको मात्रा तोकेर मापदण्ड तयार गरेको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ५ बमोजिम ‘खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति’ को व्यवस्था छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द्रप्रसाद शर्मा अध्यक्ष रहने बैठकले गुणस्तर निर्धारण गरी स्वीकृतिका लागि सिफारिस गरेको हो ।

‘आइतबारको बैठकले मात्र तोकेर स्वीकृतिका लागि मन्त्रालयमा पेस गरेको छ । मन्त्रालयले मन्त्रिपरिषद्‌मा पेस गरी अनुमोदन गराउँछ । त्यसपछि राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा जान्छ,’ समितिका सदस्य सचिव एवं विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले भने, ‘गुणस्तर निर्धारण भए अनुगमनमा सहज हुन्छ ।’

समितिले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ७ बमोजिम रोल्ड ओट्स र मस्यौराको गुणस्तर मापदण्ड स्वीकृत गरी सिफारिस गरेको कर्णले जनाए । मस्यौरा स्वच्छ र सफा भई चारित्रिक स्वाद र बास्ना भएको हुनुपर्नेछ । मस्यौरामा ढुसी तथा कीरा लागेको, सडेको तथा तथा ओसिएको हुनु हुँदैन । यसको सम्मिश्रणबाहेकमा कुनै किसिमको जैविक तथा अजैविक पदार्थको उपस्थिति हुनु हुँदैन । अर्थात् ढुंगा, बालुवा, काँच (सिसा) प्लास्टिक वा त्यसका टुक्रा, माटो, धातुका टुक्रालगायत अखाद्य पदार्थ निषेध गरिएको छ । कपाल/रौं, भुसा चोकर, परालका टुक्रा, अखाद्य दाना, जिउँदो वा मरेका कीरा र फोहोरजन्य पदार्थ अखाद्य पदार्थ मिसाउन पनि पाइँदैन ।

मस्यौरामा जीवनाशक विषादीको अवशेष, हेभी मेटल्स, सूक्ष्म जीवाणु, टक्सिनलगायत हानिकारक तत्त्वका अवशेषको अधिकतम मात्रा सरकारले तोकेबमोजिम हुने जनाइएको छ । मस्यौराको उत्पादन, प्याकेजिङ, ह्यान्डलिङ, भण्डारण तथा ढुवानीमा स्वच्छता र गुणस्तर कायम गर्ने सन्दर्भमा कृषि मन्त्रालयले तोकेको निर्देशिकाअनुसार हुनेछ ।

मस्यौरालाई सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा शिलबन्द गरी प्याकेजिङ गर्नुपर्ने मापदण्डमा उल्लेख छ । प्याकेजिङ गरिएका मस्यौराको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेबमोजिमको विवरण उल्लेख गर्नुपर्नेछ । लेबलमा मस्यौरा तयार गर्न प्रयोग गरिएको सम्मिश्रणको विवरण स्पष्ट देखिने गरी उल्लेख गर्नुपर्नेछ ।

रोल्ड ओट्सको पनि गुणस्तर मापदण्ड बनेको छ । ओट्स तयार गर्दा स्वच्छ र सफा भई चारित्रिक स्वाद र बास्ना भएको, ढुसी तथा कीरा नलागेको हुनुपर्नेछ । सडेको तथा तथा ओसिएको पनि हुनु हुँदैन । कुनै किसिमको जैविक तथा अजैविक १२ पदार्थ र १२ रङको प्रयोग गर्न पनि निषेध गरिएको छ । ‘ओट्स सफा र सुक्खा खाद्य ग्रेडको प्याकेजिङ सामग्रीमा सिलबन्दी गरी प्याकेजिङ गर्नुपर्छ । प्याकेजिङ गरिएका ओट्सको लेबलमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले तोकेबमोजिमको विवरण उल्लेख गर्नुपर्छ,’ महानिर्देशक कर्णले भने ।

परम्परागत खाद्य पदार्थ मस्यौराको स्वच्छता तथा गुणस्तर मापदण्डसमेत स्वीकृत गरी सरकारमा सिफारिस गर्ने निर्णय गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । ‘राजपत्रमा प्रकाशन भएको ९१औं दिनबाट कार्यान्वयन हुने मापदण्डले खाद्य पदार्थको अनुगमन, निरीक्षण, परिक्षण र नियमनमा सहज हुनेछ,’ महर्जनले भने । समितिले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को प्रभावकारी कार्यान्वयनका लागि खाद्य स्वच्छता तथा गुणस्तर नियमावलीको मस्यौदा पनि तयार गरेको छ । मस्यौदा मन्त्रालयमा पेस गर्ने पनि निर्णय भएको जनाइएको छ ।

राजु चौधरी कान्तिपुरमा उद्योग, वाणिज्य तथा आपूर्ति एवं उपभोक्ता, कृषि तथा आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully