अर्थमन्त्री र जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिबीच भेट

नेपालमा थप लगानी गर्न अर्थमन्त्री पौडेलले गरे आग्रह

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

Meeting between Finance Minister and representatives of Japanese commercial companies

काठमाडौँ — नेपाल-जापान फ्रेन्डसिप समिट-२०२५ का लागि आएका जापानका व्यावसायिक कम्पनीका प्रतिनिधिले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् ।

भेटमा मन्त्री पौडेलले नेपालको विकासका प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना रहेको बताए । उनले नेपाल-जापान फ्रेन्डसिप समिटले नेपालमा लगानीकर्ताका लागि अनुकूल वातावरण रहेको सन्देश प्रवाह गर्ने र जापानी लगानीकर्तालाई थप लगानी गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

विदेशी लगानीकर्ताका लागि जलविद्युत्, पर्यटन र उत्पादनमूलक क्षेत्र पनि लगानीको आकर्षक क्षेत्र रहेकाले यी क्षेत्रमा उत्साहित भएर लगानी गर्न उनले अनुरोध गरे । सरकारले निजी क्षेत्रका सरोकारलाई सम्बोधन गरी विभिन्न कानुन अध्यादेशमार्फत संशोधन गरी लगानीका लागि अझ सहज वातावरण तयार गरेको मन्त्री पौडेलले जानकारी गराए ।

टोलीमा फुजिता, बेन्सेस कर्पोरेसन, डिजिटल पाइलट, टोकियो मरिन, फोर्थ भ्याली लगायत एक दर्जनभन्दा बढी कम्पनीका प्रतिनिधि सहभागी थिए । 

समिट आजबाट काठमाडौंमा सुरु भएको छ ।

कान्तिपुर

Link copied successfully