८८ लाख लागतमा कैलाश गाउँपालिकाद्वारा जीपलाइन निर्माण 

फाल्गुन १४, २०८१

प्रताप विष्ट

Construction of zipline by Kailash rural municipality at a cost of 88 lakhs

हेटौंडा — मकवानपुरको कैलाश गाउँपालिकाले पर्यटक आकर्षित गर्नका लागि जीपलाइन निर्माण गरेको छ । पालिकाले जीपलाइन निर्माणमा ८८ लाख रुपैयाँ लगानी गरेको छ ।

पालिकातस्तरबाट निर्माण गरेको जीपलाइन यो पहिलो हो । कैलाश गाउँपालिका–२ कैलाशमा जीपलाईन निर्माण गरेको छ । उक्त जीपलाइनको छिट्टै नै प्रारम्भिक परीक्षण सञ्चालन गरिँदैछ ।

‘जीपलाइनको काम सकिएको छ,’ गाउँपालिका उपाध्यक्ष वालकुमार मल्लले भने, ‘बाहिरका जीपलाइनसम्वन्धी प्राविधिक ल्याएर परीक्षण सञ्चालन गर्दैछौं ।’ जीपलाइनको प्रारम्भिक परीक्षण सफल भएपछि पनि नियमित सञ्चालनका लागि केही समय लाग्ने गाउँपालिकाले जनाएको छ । जीपलाइन चढ्ने र ओर्लने स्थानमा शौचालयलगायत पूर्वाधारहरु निर्माण गर्न बाँकी रहेको छ ।

कैलाश र बैकुण्ठका दुई धार्मिक तथा पर्यटकीय स्थलका पहाडलाई जोड्ने गरी जीपलाइन निर्माण गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले बताए । १२ सय मिटर लामो रहेको जीपलाइनको निर्माण कार्य सन्ध्या निर्माण सेवाले गर्दै आएको छ । 

८८ लाख ५६ हजार रुपैयाँमा ठेक्का लिएर २०८० चैत २ गते  सम्झौता गरेको उक्त निर्माण कम्पनीले २०८१ फागुन ३० गतेसम्म निर्माण गरी सक्नुपर्ने समयावधि तोकिएको छ । निर्माणस्थल भौगोलिक रुपमा दुर्गम भए पनि तोकिएको समयमै सम्पन्न गरेको गाउँपालिकाका प्राविधिक बताउँछन् । 

जीपलाइनको के कसरी नियमित अप्रेशन तथा ब्रेकिङ सिस्टम बारेमा अध्ययन गर्न गाउँपालिकाको टोली कास्कीको सराङकोटमा सञ्चालित जीपलाइन अध्ययन अवलोकन गर्न गएका थिए । मकवानपुर जिल्लामा मकवानपुरगढीमा निजी क्षेत्रबाट ४ वर्षअघि जीपलाइन सञ्चालन गरिएको थियो । त्यो अहिले बन्द अवस्थामा छ । कैलाश गाउँपालिकामा निर्माण गरिएको जीपलाइन पुग्न मनहरी बजार, त्रिभुवन राजपथको चुनिया र थाहा नगरपालिकाको शिखरकोटबाट सवारी साधन २ घन्टामा पुग्न सकिन्छ ।

प्रताप विष्ट

Link copied successfully