काठमाडौँ — यात्रु आवागमनको चाप बढेर महँगो दरमा हवाई टिकट बिक्री भइरहेका बेला नेपाल वायुसेवा निगमका दुई न्यरोबडी र एउटा वाइडबडीसहित तीनवटा जहाज एकैसाथ ‘ग्राउन्डेड’ भएका छन् ।
राम्रो कमाई हुने सिजनमा जहाज नहुँदा तीन दिनयताका आधा दर्जन गन्तव्यमा उड्नुपर्ने उडान धमाधम रद्द हुँदा कम्तीमा २ हजार यात्रु अलपत्र परेको निगमको मार्केटिङ विभागका अधिकारीहरुले जनाएका छन् । ‘तीन दिन यताका मुम्बई, बैंलुरु, क्वालालम्पुर, दोहा, दमामका उडान अन्तिम सयममा जहाज बिग्रिएकाले, नभएकाले रद्द हुँदा टिकट खरिद गरेका २ हजार हाराहारी यात्रु अलपत्र छन्, उनीहरुलाई कतै होटलमा, कतै अर्को जहाजबाट पठाउने प्रयास भइरहेको छ’, निगमका एक उपनिर्देशकले भने,‘यतिबेला हामी यात्रु तथा ट्राभल एजेन्सीका फोन उठाउन सक्ने अवस्थामा छैनौं । हामीले जवाफ दिने ठाउँ नै भएन । हाम्रै कार्यकारी अध्यक्ष फोन अफ गरेर बस्नु भएको छ ।’
निगमसँग १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्न १ सय ५७ सिट क्षमताका दुइटा एयरबसका ए३२० न्यरोबडी र २ सय ७४ सिट भएका दुइटा एयरबसका ए३३० वाइडबडी विमान गरी चारवटा जेट छन् । तर एक सातायता निगमका तीनवटा विमान पटकपटक बिग्रिए । चीनमा सीचेक सकिएको सगरमाथा न्यरोबडी भुक्तानीमा समस्या सृजना हुँदा एक सातादेखि उतै थन्किएको छ । अर्को लुम्बिनी न्यरोबडी अगाडिको पाङ्ग्रामा समस्यादेखिएपछस तीन दिन साउदीअरबको दमाममा थन्किएको थियो । त्यहाँको साउदी एयरलायन्सको सहायतामा मर्मत गरेर मंगलबार बिहान काठमाडौंमा अवतरण भएको त्यो विमानमा पुन: समस्या देखिएपछि निगमले विमानस्थलमा रहेको मर्मतशालामा राखेको छ । निगमका प्राविधिकले यो विमान काठमाडौंमा मर्मत गर्न नसकिने जनाउँदै बिहीबार दिल्ली पठाउने जनाए ।
त्यस्तै मंगलबार बेलुकी वाइडबडी अन्नपूर्ण दिल्लीमा नियमित जाँचका कारण रोकियो । बुधबार बिहान दिल्लीबाट मर्मत गराएर ल्याइएको वाइडबडीमा इन्धनसम्बन्धी एकासी नयाँ समस्या देखिएपछि पुन: ग्राउन्डेड गरिएको छ । ‘अब निगमसँग एउटामात्रै वाइडबडी उडानमा छ । बुधबार बिग्रिएको वाइडबडी बिहीबारसम्म मर्मत गरेर उडाउने योजना छ । यसको स्पेयर पार्ट यूकेबाट झिकाइएको छ,’ मर्मतमा संलग्न एक इन्जिनियरले भने ।
माघमा सीचेकका लागि चीनमा पठाइएको सगरमाथा नामको न्यरोबडी मर्मत भइसकेको छ । एक साताअघि नै काठमाडौं आएर उडान गर्नुपर्ने त्यो जहाजको भुक्तानीसम्बन्धी बिलमा हिसाब फरक-फरक आएकाले झमेला सृजना भएको सम्बद्ध अधिकारीहरुले बताएका छन् । ‘दुइटा बिल फरक-फरक कम्पनीका नाममा आए । दुबैमा रकम पनि फरक छ । सम्झौतामा एउटा रकम छ । भुक्तानीमा बिल रकम बढेर आयो । यो विवादले जहाज चीनमै रोकिँदा दैनिक कम्तीमा २ करोड रुपैयाँको आम्दानी निगमले गुमाउनु परेको छ,’ निगमको अर्थ विभागका एक अधिकृतले भने ।
निगमले यतिबेला काठमाडौं, मलेसिया, दोहा, दुबई, बैंकक, बैंलुरु, दमाम लगायतका गन्तव्यका दुईतर्फी उडान अन्तिम समयमा रद्द गरेको छ । अन्तिम समयमा उडान रद्द गर्दा विमानस्थलमा आइसकेका यात्रुलाई होटलमा राखेको छ । ती सबै निगमकै अतिरिक्त खर्चमा स्वदेश र विदेशका होटलमा छन् । ‘होटलमा कति यात्रु छन् । कति घर–डेरा फर्किए एकिन लेखाजोखा छैन’, निगमका एक उपनिर्देशकले भने,‘मिटिङमा जानुपर्ने, तेस्रो गन्तव्य उड्नुपर्ने यात्रुहरुलाई अरु वायुसेवामा पठाउन पनि टिकट सजिलै प्राप्त भइरहेको छैन ।’
निगमका उडान रद्द हुन थालेपछि काठमाडौं सेक्टरमा/बाट उडान गर्ने विदेशी वायुसेवाले टिकटको मूल्य बढाएर यात्रुलाई ठग्न थालेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको निगमको यात्रु सेवा विभागका कर्मचारीले कान्तिपुरलाई बताए ।
निगमले १० वटा गन्तव्यमा गर्ने उडान यतिबेला मकालु वाइडबडीको भरमा आइपरेको छ । त्यो जहाजले बुधबार दिउँसो पौने २ बजे गर्नुपर्ने दिल्लीको उडान ५ घन्टा ढिलो गरेको थियो । दिल्लीबाट फर्केपछि सोमबारदेखि काठमाडौंमा रोकिएका दोहाका यात्रुलाई उडान तालिका राखिएको छ । यो समाचार तयार पार्दासम्म उक्त विमान दिल्लीका लागि उडेको ५२ मिनेट मात्रै भएको थियो । यी घटनाबारे निगमका प्रवक्ता रमेश पौडेलले भने, 'निगमका जहाजहरु अन्तर्राष्ट्रिय प्रचलनअनुसार निर्माता तथा नियामकले तोकेका मापदण्डअनुरुप नियमित मर्मतसम्भार गरिन्छ ।तथापि कहिलेकाहीं जहाजमा आकस्मिक प्राविधिक समस्याहरु आउँदा छोटो समयका लागि जाहाज ग्राउन्डेड हुन सक्छन् ।'
चीनमा सीचेक भएको सगरमाथा न्यरोबडी बिहीबार बेलुकी आइपुग्ने दाबी गर्दै उनले भने, 'निगमको लुम्बिनी न्यरोबडी र वाइडबडी अन्नपूर्ण जहाजको मर्मत कार्य भइरहेकोले बिहीबार उडानमा जाने छ । यसको कारणले रद्द वा ढिलाई भएका उडानका यात्रुलाई सकेसम्म अर्को वायुसेवाको टिकट किनेर पठाउने वा होटल बास दिएर सहजीकरण गरिएको छ ।'
