जुम्ला — जुम्लाको गुठीचौर गाउँपालिका–५ स्थित धिताचौर वनस्पति उद्यानमा अनुसन्धानका लागि रोपिएका हजारौं वनस्पतिहरु खडेरीले सुकेका छन् ।
२०५६ सालमा स्थापना भएको उद्यानमा सयभन्दा बढी प्रजातिका झण्डै १० हजार भन्दा बढी वनस्पति रोपेर अनुसन्धान भइरहेको छ । अहिले पानी बोकेर भए पनि विरुवामा हाल्ने गरिएको छ ।
खडेरी लामो समयसम्म कायम रहे जडिबुटी बचाउन नसकिने चौकीदार मीतानन्द न्यौपाने बताउँछन् । ‘अहिले जडिबुटी रोपेर सिँचाइ गर्ने समय हो । यही समयमा पानी नै छैन,’ उनले भने, ‘बोकेर ल्याएको पानीले यतिका विरुवालाई पुर्याउन मुस्किल छ ।’
पाटनमा लोप भइरहेका जडिबुटीको अनुसन्धान यही उद्यानमा भइरहेको छ । तर सिँचाइ अभावले सुक्न थालेका छन् । जसकारण अनुसन्धानसमेत प्रभावित बनेको छ । उद्यानले यहाँ सफल भएका वनस्पतिहरु किसानलाई सिफारिस गर्दै आएको छ ।
जिल्लाका आठ स्थानीय तहका किसानले यहाँ अनुसन्धान भइरहेका विरुवाहरु लैजाने गरेका छन् । मीतानन्दले भने, ‘पानीका मुहानहरु सुक्दै गएका छन् । आकाशे वर्षा पनि भएको छैन । पर्याप्त पानी नपाए विरुवा बचाउन गाह्रो छ ।’
वनस्पति कार्यालय अस्थायी रुपमा स्थापना हुँदा २०४८ सालदेखि उनी चौकीदारीमा लागेका हुन् । उनले अहिलेसम्म खडेरी बेहोरेका थिएनन् । ‘हिउँदे वर्षाले राहत हुन्थ्यो । तर यसपाली हिउँदे वर्षा भएकै छैन । न नजिकबाट कुलो ल्याउन मिल्ने पानीको स्रोत नै छ’ उनले भने, ‘आफैंले रोपेका विरुवा एकपछि अर्को सुक्दै जाँदा मन कटक्क खान्छ ।’
उद्यानमा रोपिएका वनस्पति संरक्षण तथा रेखदेखका लागि ६ जना चौकीदार राखिएका छन् । वनस्पति बचाउन उद्यानभित्रै दुई पोखरी पनि छन् । तर पोखरीमा पानी छैन । एक घण्टा टाढा कानीकोट भन्ने स्थानदेखि ल्याइएको पानीको मुहान सुकिसकेको छ ।
अर्का चौकीदार राजु धितालले भने, ‘मुहानदेखि पानी ल्याउन कठिन छ । पोखरीसम्म पुग्ने चुहिने थोपाले सिँचाइ गर्न पुग्दैन । समयमै वर्षा भएन भने विरुवा जोगाउन मुस्किल छ ।’
साढे ४ हेक्टरमा फैलिएको उद्यानमा किसानहरु भेला गराएर वनस्पति संरक्षणका तालिमहरु प्रदान हुने गरेको छ । वनस्पतिको महत्त्वका बारेमा सन्देश फैलाइन्छ । तर अहिले सिँचाइ अभावले बहुमूल्य जडीबुटीका विरुवा सुकिरहेका छन् ।
यहाँका विरुवा जुम्ला लगायतका कर्णालीका हुम्ला, मुगु, कालिकोट र डोल्पासम्म किसानले लैजान गरेका छन् । उद्यानमा जटामसी, पाँचऔले, अतिस, सुगन्धवाल, सुमायो, धुपजडी, मेन्था, पाषण वेद लगायतका जडिबुटीहरु रोपिएका छन् । पाटनमा लोप हुन लागेका वनस्पतिहरु यहिँ देख्न सकिन्छ ।
स्वदेशी तथा विदेशी पर्यटकहरुसमेत वनस्पति अध्ययनका लागि धिताचौर पुग्ने गरेका छन् । तर अहिले त्यही वनस्पति उद्यान सिँचाइ अभावले सुकिरहेको छ ।
अहिले मानिसहरु वनस्पति हेर्न र ल्याउन भन्दै गइरहन्छन् । सुकेका विरुवाहरु देखेर उनीहरु विरक्तिँदै फर्किन्छन् ।
सिंजाका खड्कबहादुर रोकायाले खडेरीले विरुवाहरु सुकेको देख्दा मन खिन्न भएको बताए । उनले भने, ‘अब तिला नदीबाट लिफ्ट गरेर भए पनि सिँचाइका लागि पानी उद्यानसम्म पुर्याउनुपर्छ ।’
