काठमाडौँ — रसुवा भन्सारबाट सुटकेस र सिरक जाँचपास गराएर जुत्ता पैठारी गरेको अभियोगमा करिब पौने ११ करोड राजस्व छलीको मागदाबीसहित उच्च अदालत पाटनमा तीन जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।
राजस्व अनुसन्धान विभागले एउटा मालवस्तु जाँचपास गरेर अर्कै कन्टेनरमा सामान राखेर चोरी पैठारी गरेको फेला पारेपछि तीन महिनादेखि अनुसन्धान गरिरहेको थियो । अनुसन्धानका आधारमा राजस्व चुहावटको मुद्दा दायर गरेको हो ।
गत मंसिर ४ गते रसुवा भन्सारमा सुटकेस र सिरक जाँचपास गराएर काठमाडौं आउँदै गरेको ना ३ ख ७०१ नम्बरको कन्टेरमा ३ हजार ३ सय ७२ जोर ब्रान्डेड जुत्ता भेटिएको थियो । जुत्ताको भने राजस्व नतिरी पैठारी गरिएको थियो ।
बम्जन इन्टरप्राइजेजको नाममा आयात गरेको सुटकेस र सिरक रसुवामै राखेर जुत्ता ल्याएको भेटिएको थियो । अनुसन्धानका क्रममा जाँचपास गरेर सील लगाएको ७०१ नम्बरको कन्टेनरमा रहेको सिरक ना ६ ख ४८९४ मा राखिएको भेटिएको छ ।
त्यस्तै सोही कन्टेनरमा जाँचपास गरेको सुटकेस ना ६ ख १००० नम्बरको कन्टेनरमा राखिएको भेटिएको छ । उक्त दुवै कन्टेनर अहिले पनि रसुवा भन्सार हातामा छन् । उक्त इन्टरप्राइजेजका मालिक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–६ का बुद्ध लामासहित कन्टेनर नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।
विभागले बुद्ध, जुत्ता पैठारीमा सघाउने गुल्मी रुरु गाउँपालिका–५ का कुमार श्रेष्ठ र भन्सार एजेन्ट नौल बहादुर तामाङविरुद्ध राजस्व चुहावटको मुद्दा लगाएको हो । बुद्धबाट २ करोड ८० लाख ६६ हजार ७ सय ५९ बिगो र शतप्रतिशत जरिवानासहित ५ करोड ६१ लाख ३३ हजार ५ सय १८ रुपैंयाँ असुल्नुपर्ने माग गरिएको छ ।
जुत्ता आयातमा सघाएको अभियोगमा श्रेष्ठबाट १ करोड २५ लाख ६७ हजार ९ सय ३४ रुपैंयाँ बिगो र शतप्रतिशत जरिवानसमेत २ करोड ५१ लाख ३५ हजार ८ सय ६८ असुल्नुपर्ने माग गरिएको छ । त्यस्तै एजेन्ट नौलबहादुमाथि पनि चोरी पैठारीमा सघाएको अभियोग लगाइएको छ ।
राजस्व अनुसन्धान विभागकी उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जारी गरेको विवरण अनुसार सबै प्रतिवादीबाट बिगो र जरिवानसमेत कूल १० करोड ८४ लाख ६ सय ७४ राजस्व असुल्नुपर्ने माग गरिएको छ । जुत्ता र कन्टेनर जफत गरेर लिलाम गर्नुपर्ने माग अदालतसमक्ष गरिएको छ ।
लामाले आफ्नै नाममा रहेको फर्मको नाममा प्रज्ञापनपत्रमा सुटकेस र सिरक घोषणा गरेर करिब ८ लाख भन्सार तिरेका थिए । भन्सार कर्मचारीले पनि प्रज्ञापनपत्रमा उल्लेखित सामान जाँचपास गरेको उल्लेख गरेका थिए । भन्सारको अभिलेख अनुसार २०, २४ र २८ इन्चको २१० वटा सुटकेस तथा २५० थान सिरक आयात भएको देखिन्छ ।
