काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिका सदस्यमा बलबहादुर पराजुलीलाई फेरि नियुक्त गरेका छन् । गत माघ २४ मा व्यक्तिगत कार्यव्यस्तता देखाएर पराजुलीले राजीनामा दिएका थिए ।
मन्त्री खड्काले गत शुक्रबार फेरि पराजुलीलाई प्राधिकरण सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् । गत पुस २ मा पराजुली र लक्ष्मण केसीलाई प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । उनीहरूको कार्यकाल ४ वर्षको हुनेछ ।
केसी कांग्रेसनिकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सीडीईएन)का अध्यक्ष हुन् भने पराजुली एमाले निकट हुन् । उच्च अदालत पाटनमा पुस १८ केसीको नियुक्तिविरुद्ध जनार्दन जोशीले रिट हालेका थिए । अदालतका न्यायाधीश टीकाराम आचार्यको एकल इजलासले पुस २६ मा अन्तिम किनारा नलागेसम्म नियुक्तिको निर्णय र मनोनयन पत्र कार्यान्वयन नगरी यथावत् राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो ।
त्यसयता केसीले प्राधिकरणको सञ्चालकका रूपमा काम गर्न पाएका छैनन् । पराजुलीको नियुक्तिलाई लिएर पनि मुद्दा पर्ने भयले राजीनामा दिन लगाएर फेरि मन्त्रालयले नियुक्ति दिएको हुन सक्ने ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए ।
‘अदालतले मन्त्रीस्तरीय नियुक्तिलाई प्रक्रिया मिलेन भनेर केसीको मुद्दामा भन्यो, पराजुलीको नियुक्ति पनि मन्त्रीले गरेका थिए,’ ती अधिकारीले भने, ‘त्यसमा मुद्दा पर्यो भने अदालत धाउनु पर्थ्यो । त्यसैले पराजुलीलाई राजीनामा गर्न लगाए, अहिले मन्त्रीस्तरीय निर्णय गर्न पाउने भएपछि उनैलाई नियुक्ति गरे ।’
