रकम अभावले मर्मतमा नहुँदा मारमा किसान
मकवानपुर — एक दशकअघि मकवानपुरको कैलाश गाउँपालिका–९ नामटारको कपचेरी र घैराङडाँडा जोड्ने गरी बनेको नेपालकै पहिलो ‘ग्राभिटी रोपवे’ तार चुँडिँदा ६ महिनादेखि बन्द भएको छ । बिजुली तथा इन्धनबिना गुरुत्वाकर्षण शक्तिबाट चल्ने ‘ग्राभिटी रोपवे’ बन्द भएपछि स्थानीय समस्यामा छन् ।
गत भदौ १४ मा तार चुँडिएर बन्द भएको ग्राभिटी रोपवेको मर्मत हुन सकेको छैन । रोपवेको तार परिवर्तन गरेर मर्मत गर्न नसक्दा स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तु बजारसम्म पुर्याउन र आवश्यक सामान गाउँमा लैजान समस्या भएको घैराङडाँडाकी ठूलीमाया रुम्बाले बताइन् । रोपवेको तार मर्मत गर्न करिब ७ लाख रुपैयाँ लाग्ने अनुमान गरिए पनि वडा र गाउँपालिका कार्यालयले चासो नदिएको स्थानीयको गुनासो छ ।
१२ सय १४ मिटर लामो ग्राभिटी रोपवे निर्माण भएपछि सडक सञ्जाल नपुगेको घैराङमा तरकारी तथा स्थानीयस्तरमा उत्पादित वस्तु बजार पुर्याउन र घरायसी सामग्री ल्याउन सहज भएको थियो । हिँडेर दुई घण्टा लाग्ने बाटोमा रोपवेमार्फत करिब दुई मिनेटमै सामान ओसारपसार गर्न सकिने भएपछि घैराङका स्थानीयले काउली, आलु, मूला, बन्दालगायत तरकारी नामटार बजारसम्म झार्ने गरेका थिए । यस गाउँबाट वार्षिक दुई करोड रुपैयाँभन्दा बढीको तरकारी बिक्री हुँदै आएको कैलाश–९ का वडाध्यक्ष भुवनसिंह घलानले बताए ।
रोपवे मर्मत गर्न आर्थिक सहयोगका लागि वडा कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको रोपवे उपभोक्ता समितिका अध्यक्ष ठाकुरसिंह रुम्बाको भनाइ छ । विगतमा रोपवे सञ्चालन गर्न ठेक्कामा दिने गरिएको थियो । ठेकेदारहरूले उपभोक्ता समितिलाई रकम नबुझाएकाले मर्मत गर्न समस्या भएको अध्यक्ष रुम्बाले जनाए । रोपवेबाट स्थानीयले प्रतिकिलो दुई रुपैयाँमा सामान ढुवानी गर्ने सुविधा पाएका थिए ।
२०७१ मा सस्पेन्सन ब्रिज डिभिजन कार्यालय काठमाडौं र उपभोक्ताको लागत सहभागितामा २५ लाख ५२ हजार रुपैयाँमा रोपवे निर्माण गरिएको रोपवे सञ्चालनका लागि उपभोक्ता समितिमार्फत ठेकेदारलाई जिम्मा लगाइएको थियो । यसबीचमा चार–पाँच जना ठेकेदार फेरिए । अन्तिमकालमा पूर्णराज बल ठेकेदार थिए । तर कुनै पनि ठेकेदारले उपभोक्ता समितिलाई हिसाब–किताब देखाएका छैनन् ।
पैसा उठाएर ठेकेदारहरू सम्पर्कविहीन भएपछि रोपवे मर्मत गर्न समस्या भएको वडाध्यक्ष घलानले बताए । वडा कार्यालयले सञ्चालन गर्न खोज्दा उपभोक्ता समितिले नदिएकाले मर्मत गर्न समस्या भएको उनले सुनाए । रोपवेमा रहेको दुई वटा भारी बोक्ने ‘क्यारी’ मार्फत माथिबाट ८० केजी र तलबाट ३० केजी एकैसाथ दुई वटा भारी लोड गराएर सामान ढुवानी गरिन्थ्यो ।
घैराङ डाँडाबाट एक मिनेट ५५ सेकेन्डमा नामटार कप्चेरी स्टेसनमा सामान ढुवानी हुन्थ्यो । दुई घण्टा लाग्ने बाटोमा रोपवेले दुई मिनेटमै सामान ल्याइदिने र भाडा पनि निकै सस्तो पर्ने भएपछि स्थानीयलाई सहजता थियो ।
