बागलुङ — चीनमा मासु निर्यात गर्ने लक्ष्यले बागलुङलाई पशुचौपायामा लाग्ने ‘रोगमुक्त’ जिल्ला बनाउने अभियान थालिएको छ । त्यसका लागि एक दशकदेखि ‘रोगमुक्त’ जिल्ला बनाउन नियमित खोप अभियानसमेत चलाइएको छ ।
अहिले पनि जिल्लाभित्र रहेका २ लाख ५० हजार पशुचौपायामा कुनै पनि रोग नभेटिएको भेटेरीनरी अस्पताल तथा पशुस्वास्थ्य कार्यालय बागलुङका पशु प्राविधिक अधिकृत केशवप्रसाद पौडेलले जानकारी दिए ।
सरकारले नेपालका पशुचौपाया मासुका लागि चीन निर्यात गर्ने सहमति गरेपछि त्यो काम पहिलो चरणमै पूरा गर्ने लक्ष्यमा बागलुङ लागेको पौडेलले बताए ।
‘रोगमुक्त’ जिल्ला घोषणा भयो भने बागलुङमा पशुचौपायाको ‘मेगा बधशाला’ बनाएर निर्यात गर्ने योजना रहेको उनले सुनाए ।
‘कोरला नाकाबाट नजिकको जिल्ला र रोगमुक्त भएकाले छिट्टै मासु निर्यात गर्न सकिन्छ,’ पौडेलले भने, ‘त्यसका लागि बागलुङमा पाडापाडी विस्तार अभियान पनि चलेको छ ।’
स्थानीय तह र भेटेनरी अस्पतालसमेतको अगुवाइमा ३० महिनाभित्रका पाडापाडी बढाएर मासुका लागि योग्य बनाउन लागेको उनले बताए । खसीबोका भए जिउँदै र पाडापाडी भए मासु उत्पादन गरेर निर्यात गर्न सकिने गरी अस्पतालले तयारी थालेको हो ।
१० वर्षदेखि जिल्लाका कुनै पनि पशुमा खोरेत लगायतको रोग नलागेको भेटिएको हो । त्यसबाहेक अस्पतालले गाईभैंसीमा खोरेतविरुद्धको नियमित खोप अभियान नै चलाएको छ । त्यस्तै भेडाबाख्रामा पीपीआर खोप, बंगरमा हैजा र खोरेत तथा कुकुरमा रेबिजविरुद्धको खोप लगाएको हो । चालु वर्षमा पनि २ लाख ५० हजार पशुमा खोप लगाउने अभियान सञ्चालन भइरहेको हो ।
पछिल्लो समय बागलुङ दूध, मासु र अण्डामा आत्मनिर्भर भइसकेको छ । केही उत्पादन बिक्री समेत गर्दै आएको छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटरका दरले २ करोड २७ लाख लिटर दूध चाहिनेमा २ करोड ३० लाख लिटर उत्पादन भइसकेको छ । त्यस्तै मासुतर्फ ३६ लाख केजी आवश्यक पर्नेमा ३९ लाख केजी उत्पादन भइरहेको छ । भने अण्डा तर्फ पनि वार्षिक १ करोड २० लाख गोटा उत्पादन भइरहेको हो । उक्त अण्डा पनि जनसंख्याको अनुपातमा पर्याप्त भएको वरिष्ठ पशु विकास अधिकृत ऋषिराम सापकोटाले बताए ।
हाल उत्पादनका लागि ताराखोला, बडिगाड, जैमिनी र ढोरपाटन लगायतका स्थानमा वितरण भएका पाडापाडी हुर्काएर निर्यात गर्दा युवा उद्यमी बढ्ने, आयस्रोत बढेर विदेश पलायन पनि रोक्न सकिने अनुमान छ । देशभरबाट मासु निर्यात गर्न सकिने संभावना भए पनि हाल ‘रोग फ्रि’ जिल्ला बनिसकेको र कोरला नाका नजिक पर्दा बागलुङले फाइदा लिन सक्ने सापकोटाले बताए ।
उक्त अभियान सफल बनाउन संभावित सुरक्षित र व्यवस्थित बधशाला, संकलन केन्द्र समेतको खोजी भइरहेको छ । त्यसका लागि ल्याब व्यवस्थापन सहितका योजनाका लागि प्रदेश र संघीय सरकारमा समेत माग भइसकेको उनले जानकारी दिए ।
