धानबाट मात्र ६६ करोड रुपैयाँ राजस्व
पर्सा — वीरगन्ज नाका हुँदै तीन महिनामा ८ अर्ब ६० करोड रुपैयाँ बराबरको धान आयात भएको छ । चालु आर्थिक वर्षको सात महिनामा ८ अर्ब ६० करोड रुपैयाँ बराबरको २२ करोड ६२ लाख किलो धान आयात भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांक छ । यसबाट ६६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक वर्षको यस अवधिमा वीरगन्जबाट ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको १३ करोड १७ लाख किलो धान आयात भएको थियो । तीन वर्षपछि भारतले निकासी पूर्ण खुला गरेकाले उल्लेख्य परिमाणमा भारतीय धान र चामलसमेत भित्रिन थालेको हो । चालु आर्थिक वर्षमा मंसिरदेखि भारतीय धान आउन थालेको हो ।
भारतले यस वर्ष नेपालका लागि कोटा निर्धारण नगरेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं नेपाल चामल, दाल, तेल उद्योग संघका पूर्वअध्यक्ष सुबोधकुमार गुप्ताले बताए । भारतले ३ वर्षपछि नेपाल र अन्य देशमा धानको निकासी पूर्ण रूपले खुलाएको हो ।
गत वर्ष भारतले नेपालमा ६ लाख टन धान निकासीको कोटा निर्धारण गरेको थियो । विगतमा निकासीमा २० प्रतिशत शुल्क लगाएको भारतले यस वर्ष धान निकासीमा यो शुल्क हटाएर शून्यमा झारेको छ । विगतमा भारतमै धानको उत्पादन घटेको तथा रुस–युक्रेन युद्धलगायत कारण देखाउँदै भारतले छिमेकी मुलुकमा धानको निकासी नियन्त्रण गर्न कोटा निर्धारण गरेको थियो ।
यस वर्ष भारतले धानको निकासीमा कुनै बन्देज नलगाएकाले नेपालको सबै नाकाबाट धान आयात गर्न सकिने गुप्ताले जनाए । गत वर्ष वीरगन्ज र भैरहवा नाकाबाट मात्रै धान आयात भएको थियो । नेपालमा वार्षिक करिब २० देखि २२ लाख टन धान उत्पादन हुन्छ । तर, वार्षिक धानको माग ३० लाख टन छ । अपुग करिब ८ लाख टन धान आयात गर्नुको विकल्प नरहेको गुप्ताको भनाइ छ ।
भारतबाट धान आयात गर्दा ५ प्रतिशत भन्सार शुल्क र २ दशमलव ५ प्रतिशत अग्रिम आयकर मात्र लाग्ने गुप्ताले जनाए । धान भित्रिने क्रम जारी रहेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले बताए । ‘अहिले पनि दिनहुँ ८० देखि १ सय ट्रक धान वीरगन्जबाट भित्रिँदै छ,’ उनले भने ।
