काठमाडौँ — काठमाडौँको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सी फेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । सबस्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ ।
तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन र स्थानीय रूपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सी फेदी सबस्टेसन निर्माणाधीन छ ।
स्थानीय समस्याको बाबजुद एक वर्षअघि सुरु भएको सबस्टेसन निर्माण पूर्ण रूपमा (फूल फेज) मा भइरहेको छ । करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सी फेदी सबस्टेसन काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो ।
मानव बस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरू नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीयबाट सबस्टेसन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेसन निर्माण स्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरूले राजी खुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण(आईई) तथा पूरक आईईलगायतका सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरूमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेसन निर्माण स्थल छनोट गरिएको थियो । स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको छ ।
खिम्ती–बाह्रबिसे– लप्सी फेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सी फेदी सबस्टेसनको नियन्त्रण कक्ष, जीआइएसका उपकरणहरू रहने भवनलगायत सिभिल संरचनाको निर्माण ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर, जीआईएस, कन्ट्रोल प्यानललगायत सम्पूर्ण उपकरणको आपूर्ति ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् ।
तामाकोशी –काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचनाहरूको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरुको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणको जडान सुरु हुनेछ ।
बुधबार सबस्टेसन निर्माण स्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिए । ‘स्थानीय समस्याका कारण सबस्टेसन निर्माणमा केही ढिला भयो तर हालसम्मको निर्माण प्रगति सन्तोषजनक छ’, उनले भने , ‘स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायत राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सम्बोधन गरिरहेका छौं र गर्दै जानेछौं ।’
स्थानीयसँगको प्रतिबद्धताबमोजिमका सीएसआरअन्तर्गतका कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउनसमेत उनले आयोजना व्यवस्थापनलाई निर्देशन दिए । तामाकोशी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौँ आउने ४०० केभी प्रसारण लाइन लप्सी फेदी सबस्टेसनमा जोडिने छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा गरिएको छ । करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।
त्यस्तै, बाह्रबिसे–लप्सी फेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ ।उक्त टावरहरू लप्सी फेदी क्षेत्रमै पर्दछन् । करिब ४२ किलोमिटर तार तानिएको छ । तामाकोशी–काठमाडौँ प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताए । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत्लाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ ।
नेपाल सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी) को ‘विद्युत् प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलियतपूर्ण ऋणमा सबस्टेसनहरु तथा प्रसारण लाइन निर्माण भइरहेको छ ।
