काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताएका छन् ।
डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा घिसिङसँग रुष्ट रहेका ऊर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको समेत आरोप लगाए ।
‘प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न,’ प्रतिनिधिसभा बैठकमा उनले भने, ‘प्राधिकरणमा सय प्रतिशत लगानी सरकारको छ, तर एउटा कर्मचारी भाषण गर्दै हिँड्नुहुन्छ । यस्तो अराजक गतविधिलाई सरकारले सधै हेरेर बस्नु हुँदैन । लगाम लगाउनुपर्छ ।’
