गाउँलेका लागि कृषि प्राविधिकभन्दा विश्वासिला बनेका उनीहरुले एक सिजनमा ५० भन्दा बढी बगैंचा व्यवस्थापन गर्छन्
जुम्ला — जिल्लाको पातारासी गाउँपालिका–६ का अमरसिंह विष्ट र हर्कबहादुर बुढालाई उर्थु गाउँका किसानहरुको स्याउ बगैंचा व्यवस्थापन गर्न भ्याइनभ्याइ छ ।
यतिबेला उनीहरु बगैंचामा स्याउका विरुवा काटछाँट गर्ने, बोडो पेस्ट लगाउने, मलखाद्य र सिँचाइ व्यवस्थापन गर्न व्यस्त छन् ।
गाउँभरीका बगैंचामा स्याउको व्यवस्थापन गर्ने जिम्मेवारी उनीहरुको काँधमा छ । गत मंसिरदेखि स्याउको बगैंचा व्यवस्थापनमा खटिएका उनीहरु फागुन पहिलो सातासम्म बगैंचाकै काम गर्नेछन् । ‘स्याउका पाँच हजार विरुवा काटछाँट गरिसकियो,’अमरसिंहले भने,‘अझै पाँच हजार भन्दा बढी काटछाँट गर्न बाँकी छन् ।’
५० घरको बगैंचा व्यवस्थापन गर्ने जिम्मेवारी उनीहरुमा छ । काममा गुणस्तरीयता भएपछि पालिकाले खटाउने प्राविधिकहरुभन्दा गाउँमा उनीहरुको विश्वास छ । त्यसैले पनि पूरै गाउँका स्थानीयले उनीहरुलाई काम दिएका हुन् ।
बिहान १० बजेदेखि खटिने उनीहरुलाई ठूलो बगैंचा काटछाँट गर्न तीन/चार दिनसम्म लगाउँछन् भने सानोमा एकै दिनमा सकिन्छ । दैनिक ज्याला १२ सय रुपैयाँ लिन्छन्, खाना भने बगैंचावालाले नै दिन्छन् । उनीहरुले स्याउको बगैंचा व्यवस्थापनका विषयमा औपचारिक ज्ञान लिएका छैनन् ।
कक्षा ८ सम्म मात्र अध्ययन गरेका अमरसिंहले यो काम आफ्ना बुबाबाट सिकेका हुन् । स्याउ रोप्न खाडल खन्ने, पानी हाल्नेदेखि प्राफ्टिङ गर्नेसम्मको काम उनले बुबासँगै सिकेका हुन् । फलफूलका विरुवा हेरचाहमा उनको प्रेम देखेर बुबा प्रभावित भएका थिए ।
अमरसिंह गाउँमा स्याउ प्राविधिकका नामले परिचित छन् । अमर आफ्नैका पनि चार सय बढी स्याउका विरुवा छन् । मंसिरमा आफ्नो बगैंचाको काम सकेपछि पुसदेखि उनी गाउँलेको बगैंचामा काम गर्न थाले।
अमरसिंह र हर्कबहादुरको माग आफ्नो गाउँभित्र मात्र नभइ पालिकाभर छ । समय अभावले गर्दा उनीहरुले सबै ठाउँ जान सकेका छैनन् । विगतमा हरेक हिँउदमा घरखर्च जोहो गर्न भारत जाने उनीहरु अहिले गाउँमै मनग्य आम्दानी गरिरहेका छन् । तीन महिना काम गर्दा मुस्किलले ५०/६० हजार कमाइ हुने गरेकोमा अहिले उनीहरु गाउँमै दुई महिनामा एक लाख ५० हजारभन्दा बढी कमाउँछन् ।
यही दुई महिनाको कमाइले नै उनी पाँच जना परिवारको वर्षभरीको खर्च व्यवस्थापन गर्छन् । आफ्नो बगैंचामा फलेका स्याउ र ओखर बिक्रीबाट आएको रकम बालबच्चाको पठनपाठनमा खर्च हुन्छ । स्याउको रुख कत्रो बनाउने? कस्तो आकारको बनाउने? कति फलाउने? भन्ने सबै कुरा काटछाँट गर्दा नै भर पर्ने उनको अनुभव छ ।
हर्कबहादुरले पनि कक्षा १२ सम्म औपचारिक अध्ययन गरेका छन् । उनी आफैं स्याउ किसान हुन् । ३ सय विरुवाको उनको बगैंचा छ, २ सय ५० ले फल दिन्छन् । तर आफ्नो काम सकिएपछि उनी पनि दैनिक ज्यालादारीमा गाउँका बगैंचामा आफ्नो सीप उपयोग गर्छन् ।
स्याउ बिक्रीबाटै वार्षिक पाँच लाख आम्दानी हुन्छ । उनी पनि अमरसिंहसँगै गाउँका बगैंचा व्यवस्थापनमा जुटेका छन् । उर्थु गाउँमा एक सय ६० घर छन् । उनीहरु ५० भन्दा धेरै घरको बगैंचा व्यवस्थापनको जिम्मेवारी लिन्छन् । विदेश गएका, एकल भएका र बगैंचा व्यवस्थापनमा सीप नभएकाहरुको बगैंचा उनीहरुको प्राथमिकतामा पर्छन् । अनुभवबाटै खारिएका हर्कबहादुरलाई चार जनाको परिवार पाल्न यही बगैंचा व्यवस्थापनकै आम्दानीले पुग्छ ।
कुनै खालको प्राविधिक तालिमसमेत नलिएका उनीहरुले आफ्ना बुबाबाटै सीप सिके । अहिले कुनै प्राविधिकभन्दा कम छैनन् । बगैंचामा केही समस्या देखिए गाउँलेहरुले गुहार्ने उनीहरुलाई नै हो । स्याउमा लाग्ने रोगकिराको अध्ययन, अनुसन्धान्, मलखाद्य व्यवस्थापन र ग्राफ्टिङ सबै आफैंले गर्छन् ।
अन्य किसानहरुलाई तालिमसमेत दिन्छन् । ‘पढेका प्राविधिकलाई देखाउँदा उहाँहरु अंग्रेजी मिसाएर बोल्नुहुन्छ । जुनकुरा गाउँलेले बुझ्दैनन् । हामी गाउँकै लवजमा बोल्छौं । बोलेको कुरा सबै बुझिने भएकाले किसानहरु हामीबाट तालिम लिन उत्साहित हुन्छन्,’ हर्कबहादुरले भने । अहिले जिल्लामै सबैभन्दा धेरै स्याउ उत्पादन हुने उर्थु गाउँ नै हो । यहाँका हरेक घरका एक/एक बगैंचा छन् ।
