तीन वर्षभित्र पूरा हुने गरी विस्तार सुरु भए पनि समयमै सकिनेमा शंका
काभ्रे — अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्ड विस्तार दुई वर्षमा ३८ प्रतिशत मात्रै काम भएको छ । तीन वर्षभित्र पूरा हुने गरी दुई वर्षअघि सडक बिस्तार कार्य थालिएको थियो । दुई वर्षमा जम्मा ३८ प्रतिशत मात्रै भौतिक प्रगति देखिएकाले समयमै निर्माण सकिनेमा शंका बढेको छ ।
सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारी भने विस्तार तोकिएको समयमा पूरा गर्न तीव्र काम भइरहेको दाबी गर्छिन् ।
‘अहिले नाली, बस बे, सब–बेस, सर्भिस रोडमा बेस बनाउनेलगायत काम भइरहेको छ,’ उनले भनिन्, ‘साँगा–धुलिखेल खण्डअन्तर्गत महादेवखोला र पुण्यमाता खोलामा पुल निर्माणका लागि डिजाइन तयारी पनि भइरहेको छ ।’
सडक खण्डका विभिन्न स्थानमा कल्भर्ट निर्माण गरिएको छ । राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडक खण्डको दायाँ–बायाँमा रहेका १६ वटा घर हटाउनुपर्ने अधिकारीले बताइन् ।
आयोजना कार्यालयले समयमै बिस्तार कार्य सक्न तीब्र रुपमा काम भइरहेको र बजेटको समस्या नरहेको बताइरहँदा विस्तारका लागि ठेक्का पाएको निर्माण कम्पनी लामा कन्स्ट्रक्सनले भने सरकारबाट पूर्ण रूपमा बजेट कार्यान्वयन हुन नसकेको दाबी गरेको । यसले सडक बिस्तार कार्य निर्धारित समयमै सम्पन्न हुन नसक्ने जनाइएको छ । सरकारले पूर्ण बजेट उपलब्ध गराउन नसक्दा समयमै काम सक्न कठिन देखिएको लामा कन्स्ट्रक्सनका इन्जिनियर रविन्द्र श्रेष्ठले बताए ।
बजेटबाहेक राजमार्गका विभिन्न स्थानमा खानेपानी पाइप लाइन, ढल निकास, बिजुलीका तार स्थानान्तरण लगायत कठिनाइ पनि रहेको श्रेष्ठको भनाइ छ ।
