काठमाडौँ — अपांगता भएका व्यक्तिको दैनिकी सहज बनाउने 'सहायक उपकरण' वा 'एसिस्टिभ टेक्नोलोजी'बारे जानकारी दिने उद्देश्यले काठमाडौमा फागुन ४ देखि ६ सम्म मेकाथन हुँदै छ । कार्यक्रममा सहायक उपकरण निर्माणसम्बन्धी प्रतिस्पर्धा र यस विषयमा विज्ञ एवं सरोकारवालासँग छलफल गर्न लागिएको एसियाली विकास बैंक (एडीबी)ले जनाएको छ ।
मेकाथनमा सहायक उपकरणको आवश्यकता भएका निड-नोअर्स, इन्जिनियर, डिजाइनर, अकुपेसनल थेरापिस्ट लगायतको सहकार्यमा सहायक उपकरण निर्माण गरिने भएको हो ।
नेपाल सरकार, एडीबी, जापान फन्ड फर प्रस्परस एन्ड रेजिलियन्ट एसिया एन्द द प्यासिफिक, काठमाडौँ विश्वविद्यालय लगायतको सहकार्यमा मेकाथन हुँदै छ । यसबारे जानकारी दिन शुक्रबार आयोजना गरिएको कार्यक्रममा एडीबी नेपालका सामाजिक क्षेत्र विज्ञ रुडी भान डाइलले नेपालमा विभिन्न कार्यक्रममार्फत सरकारले सहायक प्रविधिको विस्तारलाई प्राथमिकता दिँदै आएको बताए । तथापी, स्रोतहरूको समुचित उपयोग र दीर्घकालीन प्रभावकारिताका लागि ठोस योजना आवश्यक रहेको पनि औंल्याए ।
उनले नेपालमा सहायक प्रविधिको व्यवस्थापनमा रहेको चुनौतीबारे पनि चर्चा गरे । ‘कहिलेकाहीँ पाँचवटा मात्र आवश्यक पर्ने ठाउँमा २० वटा छडी उपलब्ध हुन्छन र १५ वटा यत्तिकै थन्किन्छन् वा पाँचवटा व्हिलचेयर मागिन्छ तर त्यसलाई प्रयोग गर्ने व्यक्ति नै हुँदैनन्,’ उनले भने, ‘स्रोत सीमित छन्, प्रविधि महँगो छ । तर सही तरिकाले व्यवस्थापन गर्न सकियो भने यसले दीर्घकालीन प्रभाव पार्न सक्छ ।’ आफ्नी आमा ह्विलचेयरमा हिँड्ने र काठमाडौँमा ह्विलचेयरमैत्री पूर्वाधार नभएको रुडीले बताए ।
मेकाथन कार्यक्रममा सहायक उपकरणहरू निर्माणका लागि थ्रीडी प्रिन्टिङबारे जानकारी दिइने, सरोकारवालाहरूलाई सचेत गराउने र छलफलसमेत गरिने एडीबी नेपालले जानकारी दिएको छ । एडीबीकी जेन्डर एन्ड प्रोजेक्ट इम्लिमेन्टेसन सपोर्ट स्पेसलिस्ट संगीता बुढाथोकीका अनुसार मेकाथन कार्यक्रममा ६ वटा समूह बनाएर सहयोगी उपकरण बनाउन प्रतिस्पर्धा गरिनेछ । कार्यक्रममा अकुपेसनल थेरापिस्ट गंगा गुरुङले सहयोगी उपकरणलाई स्वास्थसेवा प्रणालीसँग अन्तरआबद्ध गर्न आवश्यक रहेको धारणा राखिन् ।
‘समाजमा सहभागी हुनु, काम गर्नु मानिसको मानव अधिकारको विषय भएकाले यी उपकरणको महत्व छ,' गुरुङले भनिन्, 'तर, नेपालमा सहयोगी उपकरण पाउनु सुविधा वा विशेष लाभजस्तो हुन्छ । धेरैले यसबारे सुन्नु भएको छैन, महँगो पनि छ ।’ बालबालिकालाई खाना खान, लेखपढ गर्न यस्ता उपकरण अत्यावश्यक हुने उनले बताइन् । गुरुङका अनुसार नेपालमा हालसम्म जम्मा ८ जना अकुपेसनल थेरापिस्ट छन् ।
भुटानकी १३ वर्षीया बालिका मेन्ड्रेल शेराब र सोही उमेरकी जामयाङलाई पेन्सिल समात्न सजिलो बनाइदिने सहायक उपकरण बनाएर फ्याबल्याब नेपालका इन्जिनियर सशांक देवानसहितको समूहले थिम्पुमा हालै आयोजित ‘सहायक उपरकण मेकाथन’ प्रतियोगितामा पहिलो स्थान हासिल गरेका छन् । सेरेब्रल पाल्सी (मस्तिष्कको पक्षघात) भएकी मेन्ड्रेललाई मेकाथनमा बनेको सहायक प्रविधिले लेख्न सहज बनाएको उनकी आमाको प्रतिकृया छ।
‘हामीले मेन्ड्रेललाई सुरुमा सहायक उपकरणबेगर कागजमा लेख्न लगाउँदा उनले औँला दुख्ने बताइन्, त्यसपछि हामीले औँला र पेन्सिलको बीचमा राख्न मिल्ने नरम खालको उपकरण बनायौँ,’ हालै काठमाडौँ फर्किएका देवानले भने, ‘उनी बांगो र घोप्टिएर लेख्ने हुँदा बंग्याउन मिल्ने कुर्सी पनि बनाइदियौँ । लेख्दा कपि नसरोस् भनेर होल्ड गर्ने प्रविधि गरी तीनवटा सहायक उपकरण बनाएका थियौँ ।’ साढे दुई दिनमा बनाइएका ती उपकरण मेकाथनमा सर्वोत्कृष्ट चुनिएका हुन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुल जनसंख्याको २.२ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपांगता रहेको छ । युनिसेफले भने नेपालमा अपंगता भएका व्यक्तीको संख्या कुल जनसंख्याको ११ प्रतिशत रहेको जनाएको छ । अपांगता भएका व्यक्तिका लागि सरकारले प्राथमिक सहायक सामग्री सूचीसम्बन्धी कार्यसञ्चालन लागि मार्ग निर्देशन बनाएको छ । सूचीमा ४५ वटा यस्ता उपकरण समावेश छन् । अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक पर्ने सामग्रीहरू राज्यबाटै अधिकारका रूपमा पाउने प्रावधान रहेको छ ।
