बजार अनिश्चितता र उत्पादित मह प्रमाणीकरण नहुँदा गोला बिक्रीतर्फ आकर्षित
पाल्पा — ‘उत्पादित मह बिक्री गर्न बजारमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । त्यसैले मह उत्पादन गर्नेभन्दा मौरीसहितको घार र गोला बिक्री गर्ने गरेको छु’, उनले भने । उनले न्यूनतम् १६ लाखदेखि अधिकतम् २९ लाखसम्म वार्षिक कारोबार गर्ने गरेको बताए ।
पाल्पाको बगनासकाली गाउँपालिका–८, बराङदीका पशुपति बस्यालले मौरी र मौरीजन्य सामग्री बिक्री गरेर वार्षिक २ करोडसम्मको कारोबार गर्छन् । हिमाली बी कन्सर्नका सञ्चालकसमेत रहेका बस्यालले मह, मौरीका घार, मौरीसहितको घार, मौरीका लागि आवश्यक सामान बिक्री गर्छन् । पाल्पा, गुल्मी, रोल्पा, रुकुम, अछाम, गोरखा लगायत दर्जन बढी जिल्लामा निर्यात् गर्छन् । ‘माग जहाँबाट आउँछ, त्यही अनुसारको निर्यात गर्ने गरेको छु,’ उनले भने, ‘तर सरकारी संयन्त्रको सहयोग भने न्यून छ ।’
बगनासकाली गाउँपालिका–७, खानीगाउँ कल्लाबारीका केशव पचभैयाले वार्षिक २० देखि २९ लाखको मौरीसहितको घार बिक्री गर्छन् । नेपाल प्रहरीबाट निवृत्त उनले ५ वर्षदेखि मौरीपालन सुरु गरेका हुन् । सुरुमा ४ लाखमा एक सय मौरी घार किनेर व्यवसाय सुरु गरेका हुन् । ‘उत्पादित मह बिक्री गर्न बजारमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । त्यसैले मह उत्पादन गर्नेभन्दा मौरीसहितको घार र गोला बिक्री गर्ने गरेको छु’, उनले भने । उनले न्यूनतम् १६ लाखदेखि अधिकतम् २९ लाखसम्म वार्षिक कारोबार गर्ने गरेको बताए ।
बगनासकाली गाउँपालिका–७, खानीगाउँ बसुवाखोलाका गिरीप्रसाद गैरे रानीमहल मौरीपालन कृषक समूहका अध्यक्ष हुन् । २०७७ सालमा गठन भएको समूहमा ३१ जना सदस्य छन् । गैरेले पनि मौरीको मह बिक्री भन्दा पनि मौरीसहितको गोला बिक्री गर्दै आएका छन् । वार्षिक १५ देखि २० लाख रुपैयाँ मौरीसहितको गोला बिक्रीबाट आम्दानी हुन्छ । ‘हाम्रो समूहले मह उत्पादनलाई भन्दा मौरी गोला उत्पादनमा जोड दिइएको छ,’ उनले भने, ‘सरकारी सहयोग छैन, आफैंले जे बाट फाइदा हुन्छ त्यही गर्ने हो । जसले गर्दा हामीले मौरी गोला नै उत्पादन गरेका छौं ।’ उनका अनुसार समूहबाट वार्षिक डेढ करोडसम्मको मौरीको गोला बिक्री हुने गरेको छ ।
सेरेना जातको मौरी गोला बिक्री गरेर आम्दानी गरेका यी केही उदाहरण मात्र हुन् । यसबाहेक जिल्लामा ८ सय घारबाट मौरीको मह उत्पादन हुन्छ । स्थानीय र नजिकको बुटवल बजारसम्म पाल्पाको मह निर्यात हुने गरेको छ । तर महको बजारीकरण हुन नसकेको मणीमौरी विकास सहकारी संस्थाका पूर्वअध्यक्ष तेजबहादुर भण्डारी बताउँछन् । ‘एकातिर बजारमा अस्वस्थ प्रतिस्पर्धा छ, अर्कोतिर उत्पादित महको प्रमाणीकरण नहुँदा समस्या छ,’ उनले भने, ‘त्यसैले मह उत्पादन गर्ने भन्दा पनि गोला नै बिक्री गर्ने किसान बढी छन् ।’
विगतमा परम्परागत मुढे घार प्रयोग गर्नेहरु अहिले आधुनिक घारमा मौरीपालन गर्छन् । मह बिक्रीबाट वार्षिक दुई लाख आम्दानी हुने गरेकोमा अहिले गोला बिक्रीबाट १० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको रिब्दीकोट गाउँपालिका–६, ठिमुरे, तल्लोतालका मीनबहादुर लम्तरीले बताए । पहिला जंगलमा खोजेर ५०/६० घार मुढे घारमा मौरी संकलन भएको थियो । उनको गाउँमा १६ घरपरिवारका सबैले मौरीपालन सुरु गरेका थिए । तर महको बजार अनिश्चित हुँदा कतिपयले छाडेका छन् ।
‘मौरीपालन गर्नेलाई स्थानीय तहले पनि सहयोग गर्न सकेको छैन,’ उनले भने, ‘मह उत्पादन भन्दा गोला बिक्रीलाई नै ध्यान दिन थालिएको छ ।’ मह उत्पादन बढाउन घार, चाका, आधारचाका, महदानीमा अनुदान पाउनुपर्ने उनको माग छ ।
‘मौरीको घार महँगो पर्ने भएकाले अनुदान नदिने हो भने विपन्न परिवारले आधुनिक घार लिन सक्दैनन्,’ उनले भने । गोलासहितको मौरी बिक्री गर्दा ४ हजारदेखि ६ हजारसम्म पर्छ । त्यसैले पनि मह बिक्री गर्नुभन्दा आधार चाकासहितको घार बिक्री गर्ने बढी भएको रामपुर नगरपालिका–६, का हुमनाथ न्यौपानेले बताए । उनका अनुसार मौरीपालनका लागि पाल्पामा चरनको अभाव छैन । गाउँघरका जंगलमा असुरो, मुसीकाठ, भक्तेसो, चिउरी, तोरी लगायत बाह्रैमास फुल्ने फूल र मौरीले रुचाउने विरुवाहरु पाइन्छन् ।
सरकारी तवरबाट मौरीपालन व्यवसायलाई प्रवर्द्धन गर्न कुनै सहयोग नभएपछि मौरीपालन गर्नेहरु बढे पनि मह उत्पादन वृद्धि हुन नसकेको न्यौपानेले बताए । २०५५ सालमा एउटा आधुनिक घारबाट सुरु गरेका रिब्दीकोट गाउँपालिका–७, पालुङमैनादीका केशव कुँवरको अहिले १ सय ७० मौरी घार पुगेको छ । तर महबाट भन्दा गोला बिक्री गर्दा फाइदा भएको उनले बताए । १० क्विन्टलसम्म मह उत्पादन गरेका कुँवरले अहिले गोला बिक्री गर्न थालेका छन् । उनले प्रतिकिलो एक हजारमा बिक्री हुने महबाट ७ देखि १० लाख र मौरीगोलाबाट ३/४ लाख आम्दानी हुने जानकारी दिए ।
पाल्पाको बगनासकाली गाउँपालिका–८, बराङदीस्थित हिमाली बी कन्सर्नका पशुपति बस्याल मौरी र मौरीजन्य सामग्री बाहिर जिल्ला निर्यातको तयारी गर्दै ।
पाल्पामा कति किसानले व्यवसायिक मौरीपालन गर्छन् भन्ने तथ्यांक छैन । कृषि ज्ञान केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले ८ सय गोला मौरीको घार भएको जानकारी दिए । ‘कति उत्पादन हुन्छ भन्ने तथ्यांक छैन,’ उनले भने । सरकारी सहयोगमा २०५७ सालमा मौरीको स्रोत केन्द्र र २०६० सालमा मणीमौरी विकास सहकारी संस्था नेपालमै पहिलो पटक दर्ता भएपछि व्यवसायिक रुपमा मौरीपालन थालिएको थियो ।
मुढे, खोपे, आधुनिक घार सहकारी, व्यवसायिक मौरीपालक किसानसँग कति पुगेको छ भन्ने तथ्यांक नै नभएको मणीमौरी विकास सहकारी संस्थाका अध्यक्ष मोहन कार्कीले बताए । जथाभावी वन फडानी हुँदा मौरीको चरन क्षेत्र अभाव हुँदै गएको उनको भनाइ छ । यस्तै प्रशोधन र बजारीकरणको समस्याले गर्दा पनि मह उत्पादनमा कमी आएको कार्की बताउँछन् । ‘प्रशोधन र बजारीकरणमा थप समस्या छ,’ उनले भने, ‘बजारमा रसायनयुक्त मह कम मूल्यमा उपलब्ध हुँदा अर्गानिक मह बिक्रीमा कमी आएको छ ।’
लुम्बिनी प्रदेशमै पाल्पा सेरेना मौरी पालनका लागि उपयुक्त जिल्ला हो । कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय तहले पनि मौरीपालन व्यवसायलाई विकास र विस्तार गर्न पकेट क्षेत्र तोकेर प्रवर्द्धनमा सहयोग गर्नुपर्ने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए । ‘मौरीपालनबाट किसानको आयस्रोत बढ्दै गएको छ । अब यसको विस्तारका लागि अनुदान दिनुपर्छ,’ उनले भने, ‘मौरीघार, गोला र महको माग बाहिरी जिल्लाबाट धेरै आउने गर्छ तर यसमा सरकारी लगानी खासै देखिएको छैन ।’ प्रशोधन, प्याकेजिङ र बजार व्यवस्थापनमा सरकारी सहयोग हुने हो भने मौरीपालनमा थप आकर्षण बढाउन सकिने उनले बताए ।
बजारको खोजी गर्न सहयोगी संस्था
पाल्पामा उत्पादन हुने मह राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बजार खोजी गर्न नेपाली मह मूल्य श्रृंखलाका लागि बजार पहुँच कार्यक्रम सुरु हुन लागेको छ । कार्यक्रमले मौरीपालक किसान, प्रशोधनकर्ता, व्यापारी, सरकारी प्रतिनिधिहरुबीच समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्नुका साथै सञ्जाल स्थापना गर्न सहयोग पुग्ने विश्वास छ । व्यवसायिक किट विकास केन्द्र ललितपुरको प्राविधिक कार्यान्वयन साझेदारमा सञ्चालन हुने कार्यक्रमले बजार खोजी गर्ने राष्ट्रिय प्राविधिक संयोजक जगदीश भक्त श्रेष्ठले जानकारी दिए ।
मौरीपालन गर्नेहरुसँग प्राविधिक ज्ञानको अभाव, तालिम, सीप, ज्ञानका साथै गुणस्तर, व्यापारीका साथै प्रशोधनकर्ताहरुबीचको समन्वय नहुँदा मह बिक्री गर्नेभन्दा गोला बिक्री हुँदै आएकाले यो कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ छ । निरीक्षण, परीक्षण, प्रमाणीकरणमा सहयोग पुर्याउनुका साथै मापदण्डीकरण, मापन विज्ञान, प्राविधिक नियमन, मूल्यांकन, बजार अनुगमनका विषयमा सहजीकरण गर्दै किसानलाई मौरीपालनमा आकर्षण गराइने नेशलन क्वालिटी इन्फास्टक्चर एक्सपर्ट मञ्जु क्षेत्रीले बताइन् ।
कार्यक्रमलाई युनाइटेड नेशन्स फर इन्डस्ट्रियल डेभलपमेन्ट अर्गनाइजेशनले सहयोग गरेको छ । कार्यक्रमले उच्च गुणस्तरको मह बिक्रीमार्फत नेपालका परियोजना लागू भएका जिल्लाहरुमा साना मौरीपालनहरु, लघु तथा साना मझौला उद्यमीहरु, मह प्रशोधकहरुको जीवनस्तर सुधार गर्ने उद्देश्य रहेको नेशनल भेल्यु चेन डेभलभमेन्ट एक्सपर्ट सुरेश बरालले बताए । पाल्पाका साथै नेपाली महको आन्तरिक, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न यो कार्यक्रम सहयोगी बन्ने उनले बताए ।
