मुर्माटपमा बन्ने भयो रारा रिसोर्ट

पहिलो चरणमा ४० कोठा र १२ भिल्ला तयार गर्ने योजना

फाल्गुन १, २०८१

आरती पौडेल

Rara Resort will be built in Murmattop

काठमाडौँ — मुगुस्थित छायानाथ रारा नगरपालिका–९ मुर्माटपमा एक्सपर्ट ग्रुप र रारा होल्डिङ्सले निर्माण गर्न लागेको रारा रिसोर्टको शिलान्यास गरिएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बुधबार काठमाडौंबाट डिजिटल माध्यमद्वारा उक्त रिसोर्टको शिलान्यास गरे ।

गत वैशाखमा आयोजित तेस्रो लगानी सम्मेलनमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुप र रारा होल्डिङ्स रिसोर्टबीच मुर्माटपमा लक्जरी रिसोर्ट बनाउने गरी सम्झौता भएको थियो । ८० रोपनीमा निर्माण हुने रिसोर्टमा १ अर्ब ५० करोड रुपैयाँ लगानी हुनेछ । दुई वर्षभित्र वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिनेछ ।

अहिलेको डिजाइनअनुसार रिसोर्टमा ६० कोठा, एउटा सुइट, ४ डिलक्स र बाँकी ३५ वटा स्ट्यान्डर्ड रुम रहनेछन् । पहिलो चरणमा ४० कोठा र १२ भिल्ला तयार गर्ने योजना छ । रिसोर्टमा १ सय जना क्षमताको रेस्टुराँ, स्पा, हेलिप्याडलगायत सुविधा हुनेछ । रारा तालदेखि मुर्माटप अर्थात् रिसोर्टको दूरी २ किलोमिटर छ । 

रिसोर्टको शिलान्यास गर्दै मन्त्री ठकुरीले निजी क्षेत्रको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । सरकारले निजी क्षेत्रको प्रोत्साहन र लगानी सुरक्षा गर्न योजना बनाइरहेको उनले जनाए । रारा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न ताल्चा विमानस्थलको सुधार गरिनेसमेत उनले प्रतिबद्धता जनाए ।

‘पूर्वाधार निर्माणमा स्थानीय स्रोतसाधनले बढी प्राथमिकता पाउने अवस्था बन्दै गएको छ, त्यसकारण बन्दै गरेको रिसोर्ट वातावरणमैत्री हुनेछ,’ उनले भने, ‘आगामी वर्ष तीन तहकै सरकारको सहकार्यमा रारासम्म पुग्ने सहज पहुँचका लागि पिच गर्ने योजना बनाइरहेका छौं ।’ लडेरै भए पनि लगानी गर्नेहरूलाई सुरक्षा दिने राप्रपाका सांसद ज्ञानेद्र शाहीले प्रतिबद्धता गरे । कर्णालीमा गरेको यति ठूलो लगानीलाई आफू र आफ्नो पार्टीले गर्नुपर्ने सहयोग गर्ने रास्वपाकी सांसद विनीता कठायतले बताइन् ।

(प्रशिक्षार्थी)

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully