नयाँ पुस्ता तरकारी खेतीमा संलग्न नभएकामा व्यावसायिक तरकारी खेती गरेर आम्दानी गरिरहेका कालेगाउँका किसान चिन्तित
जाजरकोट — भेरी करीडोरअन्तर्गत जाजरकोट–डोल्पा सडक खण्डमा यात्रा गर्दा जाजरकोटको जिल्ला सदरमुकामदेखि थोरै पूर्वतर्फ एउटा सानो फाँट देखिन्छ, कालेगाउँ । भेरी नगरपालिका- १ मा पर्ने यो गाउँले यहाँको उर्वर माटोमा मिहिनेत गरिरहेका किसानका कारण बेग्लै परिचय पाएको हो । करिब २ सय घरधुरी रहेको कालेगाउँका करिब ७० प्रतिशत किसानले व्यावसायिक रूपमा नै तरकारी खेती गरिरहेका छन् ।
माघ सकिनै लागे पनि चिसो अझै घटेको छैन । कहिलेकाहीँ त उज्यालो भए पनि घाम झुल्किन बिहान ९ बज्नुपर्छ । तर स्थानीय घाम पर्खेर बस्दैनन् । साधना पुन झिसमिसेमै उठेर पशु–चौपायाको काम र घर–आँगनको सरसफाइ सकेर बारीबाट एक भारी बन्दागोभी काटेर ल्याउन भ्याइसक्छिन् । ‘यो तरकारी आजै सुर्खेत पठाउनु छ । गाडी आउँदैछ,’ उनले भनिन् । यत्तिमै साधनाको काम सकिनेवाला छैन । उनीलाई बन्दाको भारी पनि तयार पार्नुछ । भनिन्, ‘तीन खेप बन्दा पठाउनुछ । त्यसका लागि बोरामा प्याक गरेर सडकसम्म पुर्याउनै छ ।’
हरेक बिहान कालेगाउँमा तरकारी ओसार्नका लागि गाडी आइपुग्छ । अनि साधनाजस्तै किसानहरूले हतार-हतार बारीबाट तरकारी टिपीवरी बोराका बोरा तयार पारिसक्छन् । तरकारीका बोरा गाडीमा चढाउने बित्तिकै उनीहरूको हातमा नगद परिसक्छ । ८ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेकी साधनाले मौसमी र बेमौसमी तरकारी बेचेर वर्षमा ३ लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन् । यसबाट घरखर्च र छोराछोरीको पढाइ खर्च गरेर २ लाखजति बचत हुने उनले बताइन् ।
कालेगाउँको माटोमा मिहिनेत गरिरहेका धेरै किसानमध्येका एक हुन्, सविन केसी । वैदेशिक रोजगारीमा ६ वर्ष मलेसियामा बिताएर २ वर्षअघि फर्केका उनी त्यसयता यही माटोमा भुलिरहेका छन् । आफ्नो करिब ९ रोपनी जग्गामा विभिन्न तरकारी खेती गरिरहेका सविनले सुनाए, ‘आफ्नै घरमा परिवारसँग बसेर आफ्नै बारीमा पसिना बगाइरहेको छु । यसले आम्दानी र आनन्छ दुवै मिलेको छ ।’
हिउँदमा बन्दागोभी, काउली, टमाटर, मुला, गाँजर आदि उत्पादन गर्ने सविन अरु सिजनमा बेमौसमी तरकारी उत्पादन गर्छन् । तरकारी खेतीबाट वार्षिक चार लाख आम्दानी गरिरहेको बताउने सविनले अब विदेशको मुख नताक्ने बताउँदै भने, ‘अरु जग्गा पनि भाडामा लिएर खेतीलाई विस्तार गर्ने सोचमा छु ।’
भेरी नदीको छेवैमा रहेको कालेगाउँ समुन्दी सतहबाट ७ सय २० मिटर उचाइमा छ । खेतीपातीका निम्ति उपयुक्त जलवायु, उर्वर जमिन, बाह्रै महिना सिंचाइको सहज उपलब्धता र उत्पादित तरकारी सजिलै बेच्न सकिने भएकाले तरकारी उत्पादनमा स्थानीयहरू लागिपरेका छन् । स्थानीय डम्बर रेग्मीले सुनाए, ‘मौसमी र बेमौसमी तरकारी उत्पादन गर्नका लागि यो ठाउँ निकै उपयुक्त छ ।’
यहाँ उत्पादित तरकारी जिल्ला सदरमुकाम खलंगाका साथै छिमेकी जिल्लाहरू रुकुम पश्चिम र डोल्पाका साथै सल्यान र सुर्खेतसम्म निर्यात हुने गरेको स्थानीय सविना बस्नेतले बताइन् । ‘तरकारीको माग बढिरहेको छ । बजारको चिन्ता छैन,’ उनले थपिन्, ‘आफ्नै बारीमा ताजा तरकारी खान पाएका छौं । बेचेर आम्दानी पनि गरिरहेका छौं ।’
तरकारी खेतीमा पुरानो पुस्ताको संग्लनता देखिए पनि नयाँ पुस्ताको यसमा रुचि देखिन्न । स्थानीय पूर्णकुमारी थापा दुःखेसो गर्छिन्, ‘हामीले त सकेको मिहिनेत गरेर कृषि गरिरहेका छौं । तर छोराछोरीले अनेक बहानामा यो पेसा गर्न मान्दैनन् ।’ उनले यसका लागि कृषि उत्पादनलाई थप व्यवस्थित र आधुनिकीकरण गर्नुपर्ने बताइन् ।
समयमा मल, बीउ र अन्य सरकारी सहयोग दिने कुरामा सरकारी निकायले कञ्जुस्याइँ गर्न नहुने यहाँका किसानको भनाइ छ । सरकारी र विभिन्न गैरसरकारी संघसंस्थाले थोरबहुत लगानी गरेर कृषि पेसाको प्रवर्द्धन र कृषकलाई प्रोत्साहन गरे पनि त्यो पुग्दो नभएको साधना पुन बताउँछिन् । भन्छिन् , ‘हामीलाई आधुनिक कृषि सामग्री र त्यसको ज्ञान–सीप तथा बेला–बेलामा सीप विकासका तालिमहरू जरुरत छ । यसमा सरकारको ध्यान जाओस् ।’
सदरमुकाम खलंगादेखि ५ किलोमिटरको दूरीमा रहेको कालेगाउँ कृषि उत्पादनका हिसाबले जिल्लाकै एक महत्त्वपूर्ण स्थल भएको बताउँदै भेरी नगरपालिका-१ का अध्यक्ष दीपक राणाले यसलाई थप व्यवस्थित गर्न आफूहरू लागिरहेको बताए । ‘कालेगाउँलाई कृषि उत्पादनको हव बनाउनका लागि हाम्रो प्रयास छ । यसका लागि कार्यापालिकामा पनि छलफल भएको छ । चाँडै नै हामी एउटा योजना बनाएर अघि बढ्ने सोचमा छौ ।’
