पञ्चेश्वर अगाडि बढाउनेबारे ऊर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्रीबीच छलफल

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Discussion between Energy Minister Khadka and India's Water Power Minister about moving Pancheshwar forward

काठमाडौँ — ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वर बहुउदेश्यीय आयोजना अगाडि बढाउनेबारे छलफल भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका ऊर्जामन्त्री खड्काले बिहीबार भारतका समकक्षी पाटिलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) छिट्टै  फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी उर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवबल अधिकारीले जनाए ।

टनकपुरदेखि नेपाल–भारत सिमानासम्मको लि‌ंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ । बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।

सप्तकोशी बहुउदेश्यीय आयोजनाको डिपिआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरुमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमामा महत्वपूर्ण कार्य अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।

भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रुप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully