काठमाडौँ — नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले घोषणा गरेका आन्दोलनका कार्यक्रम स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, आयल निगम र महासंघका प्रतिनिधीबीच बुधबार भएको छलफलपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो ।
मन्त्रालयका सहसचिव एवं निगम सञ्चालक समितिका सदस्य शिवराम पोखरेलको संयोजकत्वमा गठित कमिटीले दिने प्रतिवेदनको आधारमा माग सम्बोधन गर्ने सहमतिपछि आन्दोलनका कार्यक्रम १५ दिनका लागि स्थगित भएको हो ।
महासंघले १७ पटकसम्म ज्ञापनपत्र बुझाउँदा पनि सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै आन्दोलनमा उत्रिने घोषणा गरेको थियो । पत्रकार सम्मेलन गर्दै महासंघले बुधबार चरणबद्ध विरोधका कार्यक्रम सार्वजनिक गरेको थियो । मन्त्रालयसँगको सहमतिपछि बुधबारदेखि नै आन्दोलन स्थगित गरिएको हो ।
