काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का र भारतका विद्युत्मन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता भएको छ । ‘इण्डिया इनर्जी वीक–२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले मंगलबार भारतका समकक्षी खट्टरसँग भेटवार्ता गरेका हुन् ।
ऊर्जामन्त्री खड्काले गत वर्षको नोभेम्बर १५ मा नेपालबाट भारतीय प्रसारण लाइन हुँदै बगंलादेश विद्युत् निर्यात गर्न भारतले गरेको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिए । मन्त्री खड्काले नेपालले सुख्खायामको 'पिकआवर' (बेलुका ६ देखि १० बजेसम्म) मा भारतीय पावर एक्सचेञ्जको विद्युत् उपलब्ध हुन नसकेको भन्दै २४ सै घण्टा विद्युत् उपलब्धताको स्वीकृत दिन माग गरे ।
हाल भारतले नेपाललाई एक हजार मेगावाट विद्युत् उपलब्ध गराउँदै आए पनि पिकआवरमा भने उपलब्ध गराएको छैन । ऊर्जामन्त्री खड्काले नेपालको आफ्नै लगानीमा निर्माण भएको तामाकोशी जलविद्युत् आयोजनाको विद्युत् निर्यातका लागि स्वीकृत गर्न ध्यानाकर्षण गराए । ऊर्जामन्त्री खड्काले यसअघिको भारत भ्रमणका क्रममा भारतीय विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणका लागि निम्तो दिए पनि मंगलबारको भेटमा फ्रेबुअरी अन्तिम साता नेपाल भ्रमण हुनेगरी छलफल भएको छ ।
भेटमा भारतका विद्युत्मन्त्री खट्टरले नेपालको ऊर्जा क्षेत्रको विकासमा सँधै भारतको साथ र सहयोग रहेको बताए । उनले दुई देशबीचको विद्युत् विकासलाई आपसी छलफल र सहकार्यमार्फत अगाडि बढाउने बताए । भारतका विद्युत्मन्त्री खट्टरले भारतीय कम्पनीले नेपालमा बनाइरहेका आयोजनाको आवश्यक सहजीकरण गर्न आग्रह गरे ।
