केबलकारले पहिचान र ऐतिहासिकता प्रवर्द्धन गर्छ : ढकाल

दुई वर्षअघि पाथीभरा केबलकारमा आईएमई समूहको प्रवेशसँगै आयोजना निर्माणले गति लिएको दाबी

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Cable car promotes identity and historicity: Dhakal

काठमाडौँ — पाथीभरामा निर्माण हुने केबलकारले पहिचानको प्रवर्द्धन गर्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षले बताएका छन् । पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका उनले काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा दुई वर्षअघि पाथीभरा केबलकारमा आईएमई समूहको प्रवेशसँगै आयाजना निर्माणले गति लिन थालेको जनाए । 

‘पाथीभरामा केबलकार बनाउँदा मन्दिरको ऐतिहासिकता र पहिचान गुम्ने भन्दै सामाजिक सञ्जालमा दुष्प्रचार गरिएको देखिन्छ,’ उनले भने, ‘तर त्यस्तो होइन, केबलकारले ऐतिहासिकता र पहिचानको सुरक्षा नै गर्छ ।’ 

अहिले आएर स्थानीयभन्दा जिल्लाबाहिर वा मुलुकबाहिर बस्नेहरूले सामाजिक सञ्जालमा पाथीभरामा केबलकार बन्न नहुने भन्दै अस्वाभाविक चासो राखेको देखिएको ढकालले बताए । ‘हामी आयोजना निर्माणस्थल तथा समग्र ताप्लेजुङ जिल्लावासीका भावना र आवश्यकताको नजिकमा छौं,’ उनले भने, ‘हामीलाई स्थानीयको आवश्यकताबारे पूर्ण जानकारी छ । विकासका काममा यस्तो वादविवाद देखिनु राम्रो होइन । यस्ता कार्यले देशमा आगामी दिनमा हुने निजी लगानीलाई नै दुरुत्साहन गर्ने काम गर्छ ।’ 

राज्यका निकायबाट सबै कानुनी र नियामकीय प्रक्रिया सकेपछि काम अगाडि बढ्न नदिने विषय दुःखद भएको पनि ढकालको भनाइ छ । ‘केबलकार केवल यातायातको साधन मात्र हो,’ उनले भने, ‘जसले पाथीभरा देवीको दर्शनमा जाने तीर्थयात्रीलाई सहजता पुर्‍याउँछ । पाथीभरा देवी सबै नेपालीको आस्थाको धरोहर भएकाले यहाँ केबलकार निर्माणले यहाँका कुनै धर्म र जाति विशेष या संस्कार संस्कृति एवं हाल भइरहेका संरचनामा केही असर गर्दैन, बरु थप मजबुत बनाउन सघाउँछ ।’

ताप्लेजुङको फुङलिङ नगरपालिका ११, काफ्लेपाटीदेखि पाथीभरा देवी मन्दिर परिसरभन्दा करिब ७ सय मिटर पश्चिमसम्म २ दशमलव ७५ किलोमिटर लामो केबलकार बन्ने र त्यसमा ३६ वटा यात्रुवाहक र दुई वटा सामान ओसारपसार गर्ने गोन्डोला रहने अध्यक्ष ढकालले बताए ।

‘केबलकार निर्माण भएपछि तल्लो स्टेसनबाट माथिल्लो स्टेसनसम्म पुग्न जम्मा १० मिनेट ३१ सेकेन्ड जति समय लाग्नेछ,’ उनले भने, ‘केबलकारका सबै उपकरण तथा पार्ट्स विश्वप्रसिद्ध केबलकार कम्पनीका प्रयोग गरिनेछ ।’

कान्तिपुर

Link copied successfully