बन्द हुँदै काभ्रेका नेपाली कागज उद्योग

जिल्लाभर नेपाली कागज उद्योग कहाँ र कति दर्ता भएका छन् भन्ने यकिन विवरणसमेत छैन

माघ २६, २०८१

ज्योती श्रेष्ठ

Nepali paper industry in Kavre is closing down

काभ्रे — अड्डा–अदालतलगायत सरकारी कामकाजमा प्रयोग हुँदै आएको नेपाली कागजको बजार नपउँला व्यवसाय नै संकटमा पुगेको छ । लाखौंको लगानी गरेर उद्योग सञ्चालन गरेका व्यवसायीले नेपाली कागजको बजार राम्रो नभएपछि उद्योग नै बन्द गर्नुपरेको बताएका छन् । बजार नभएपछि उद्योग बन्द गरेको सिन्धुली घर भई बनेपा नगरपालिका–१० स्थित रेशममार्गमा नेपाली हाते कागजको व्यवसाय गर्दै आएका हरिकुमार मगरले बताए । डेढ वर्षयता उनको उद्योग बन्द छ । 

पत्रिकामा समाचार पढेर व्यवसाय सुरु गर्ने सोचले १४ वर्षअघि कञ्चन नेपाली कागज उद्योग खोलेका हरिकुमारले पछिल्ला वर्ष बजार राम्रो नभएको उनले जनाए । कोरोनापछि व्यापार राम्रो नभएकाले उत्पादन पनि कम गरिएको उनको भनाइ छ । कोरोनापछि अरू व्यवसाय विस्तारै तंग्रिँदै गए पनि यो व्यवसाय माथि उठ्न नसकेको उनले बताए ।

‘यस्तै स्थितिले धान्न सकिएन, बजार पनि राम्रो छैन, कर तिर्नैपर्‍यो, भाडा तिर्नैपर्‍यो, कर्मचारीलाई पारिश्रमिक दिनैपर्‍यो,’ उनले भने । उद्योगमा उनले २५ लाख रुपैयाँ लगानी गरेका थिए । पछिल्लो समय बजार राम्रो नहुँदा आफूले १५ लाख घाटा बेहोर्नुपरेको उनको भनाइ छ । 

पनौती–१० खोपासीमा २ दशकयता पुरुषोत्तम पौंजूले फ्रेन्डसिप पेपर उद्योगमा नेपाली कागज उत्पादन गर्दै आएका छन् । सुरुवाती समयमा व्यवसाय राम्रो भए पनि अहिले बजार नपाएर व्यवसाय संकटमा रहेको उनले जनाए । काठमाडौंमा रहेका डिलरमार्फत यहाँ उत्पादित नेपाली कागज विदेश पुर्‍याइन्छ । ‘अहिले डिलरले बजार राम्रो छैन भन्छन्,’ उनले भने, ‘सामान कम उत्पादन गर्नु भनेका छन्, पहिले ६ सय कोरी उत्पादन हुनेमा अहिले ५ सय उत्पादन हुन्छ, त्यहीँ पनि बजार छैन भनेर सबै सामान नै गएको छैन ।’ 

दुई सय कोरी जति कागज स्टकमै रहेकाले व्यवसाय धान्ने चिन्ता भएको पौंजूले बताए । कच्चा पदार्थ दोलखादेखि ढुवानी गरेर ल्याइन्छ, त्यसलाई प्रशोधन गर्नैपर्‍यो, कामदारलाई पारिश्रमिक पनि दिनैपर्‍यो, उत्पादन भएका पनि सबै बजार गएको छैन । त्यसकारण पनि अहिले व्यवसाय नै धरापमा छ । यसलाई निरन्तरता कसरी दिने भन्नेमा उनलाई चिन्ता छ । बजार राम्रो नभएकाले अर्को वर्ष कम उत्पादन गर्ने उनको सोच छ । 

उद्योग दर्ता छन् तर सम्पर्कमा छैनन्

जिल्लाभर नेपाली कागज उद्योग कहाँ र कति दर्ता भएको छ भन्ने यकिन विवरण छैन । उद्योग वाणिज्य कार्यालयको तथ्यांकमा हालसम्म ३ वटा मात्रै नेपाली कागज उद्योग दर्ता भएको देखिन्छ । २०५७ मा साबिक सापिङ गाविस–४ झिनोटार गणेश नेपाली कागज उद्योग प्रालि दर्ता भएको कार्यालयको विवरणमा देखिन्छ । उक्त उद्योगले दर्तापछि नवीकरण नगरेको र हाल सम्पर्कमा नरहेको कार्यालयले जनाएको छ । 

साबिक पनौती–१२ मा उग्रतारा हाडकेश्वर नेपाली कागज उद्योग २०६१ मा दर्ता भएको कार्यालयको तथ्यांकमा छ । तर दर्तापछि उक्त उद्योग पनि सम्पर्कमा नरहेको कार्यालयको भनाइ छ । २०६३ मा साबिक बनेपा–५ मा नेपाल कागज उद्योग दर्ता भए पनि हालसम्म सम्पर्कमा नरहेको कार्यालयले बताएको छ । 

अन्य संस्थामार्फत उद्योग दर्ता भएको र शाखा कार्यालय सञ्चालन भएको खण्डमा यस कार्यालयको दर्ता सूचीमा उल्लेख नहुने हुँदा पनि संख्या कम देखिएको कार्यालय प्रमुख सीताराम पोखरेलको भनाइ छ । नेपालीको कागज बहुपयोगी भए पनि यसको बजार राम्रो नहुँदा पनि दर्ता भएकै उद्योग पनि बन्द भएको हुन सक्ने उनले जनाए । सामान्य कागजको तुलनामा नेपाली कागज अलि महँगो हुने भएकाले खपत कमी हुँदा यस्ता उद्योग बन्द भएको हुन सक्ने उनको अनुमान छ । 

आन्तरिक राजस्व कार्यालय काभ्रेको तथ्यांकमा ५ वटा नेपाली कागज उद्योग दर्ता भएका छन् । तर ५ वटै उद्योग हाल सम्पर्कमा नरहेको कार्यालयले जनाएको छ । भुम्लु गाउँपालिका–१ झिनोटार गणेश नेपाली कागज उद्योग प्रालि, पनौती–१० मा द्रौपदा कागज उद्योग, कञ्चन नेपाली कागज उद्योग प्रालि, नमोबुद्ध नेपाली कागज उद्योग र हातेमालो अर्गानिक कृषि फर्म यस कार्यालयमा दर्ता भएका छन् । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully