नेपालगन्ज महोत्सवमा ६ करोड बढीको कारोबार

माघ २६, २०८१

रुपा गहतराज

More than 60 million turnover at Nepalgunj festival

नेपालगन्ज — नेपालगन्जमा सञ्चालन भएको प्रादेशिक महोत्सव–२०८१ मा ६ करोडको कारोबार भएको छ । महोत्सवको तथ्यांक समितिले स्टल व्यवसायीसँग संकलन गरेको विवरणमा ६ करोडको कारोबार देखिए पनि वास्तविक रुपमा भने अझै धेरै रुपैयाँको कारोबार भएको आकलन गरिएको छ ।

यही माघ १० गतेदेखि २४ गतेसम्म सञ्चालित महोत्सवमा ६ करोड भन्दा बढीको कारोबार भएको संघका अध्यक्ष टंकबहादुर धामीले बताए । उनले अझै केही स्टलबाट कारोबारको जानकारी आउन बाँकी रहेकोले कारोबार रकम बढ्ने बताए । 

१४ दिनसम्म सञ्चालन भएको महोत्सवलाई बाँके र बर्दियाका गरेर दुई लाख सर्वसाधारणले अवलोकन गरेका थिए । महोत्सवमा भएको कारोबारले यस क्षेत्रको आर्थिक गतिविधिलाई चलायमान बनाउन ठूलो सहयोग गरेको व्यवसायीहरुको भनाइ छ । 

लामो समयपछि भएको महोत्सवमा कर्णालीका अर्गानिक उत्पादनदेखि घरेलु उत्पादनहरुको खरिदबिक्री भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगरउपाध्यक्ष सुरकृष्ण वैद्यले निजी क्षेत्रले देशको आर्थिक अवस्था बलियो बनाउन दिनरात मिहेनत गरिरहेकाले यसमा सरकारको पनि सहयोग हुनुपर्ने बताए । 

महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारद्वारा दैनिक रुपमा कला संस्कृति संरक्षणका लागि प्रस्तुत गरिएका गीत, नृत्य र अन्य सांस्कृतिक कार्यक्रमप्रति सबैभन्दा बढी अवलोकनकर्ताको आकर्षण देखिएको थियो।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully