भरतपुरमा डेरी प्रदर्शनी

माघ २६, २०८१

कान्तिपुर संवाददाता

Dairy Exhibition at Bharatpur

चितवन — भरतपुरमा पहिलो राष्ट्रिय डेरी एक्स्पो सुरु भएको छ । भरतपुर दूरसञ्चार रोडमा रहेको चितवन उद्योग संघको प्रदर्शनी केन्द्र (एक्स्पो सेन्टर) मा शुक्रबार सुरु भएको प्रदर्शनीको कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरे ।

चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनी माघ २७ सम्म चल्नेछ ।

किसान, उद्योगी र व्यवसायीलाई एकै थलोमा ल्याउने र डेरी उद्योगका नयाँ औजार, उपकरण र प्रविधिबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरेको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

प्रदर्शनीमा समस्या र चुनौतीबारे मन्थन गर्दै सम्भावनाको खोजी पनि गरिने उनले जनाए । प्रदर्शनीमा डेरी तथा पशु आहार उद्योगमा आवश्यक मेसिनरी तथा उपकरण, डेरी सफ्टवेयर, डेरीका विभिन्न उत्पादन, दूध सहकारी, पशुपालनका सामग्री, आहारा, औषधि, डेरी प्याकेजिङ उद्योगका करिब सय स्टल छन् ।

स्थानीय उत्पादन बढाउन र अन्तर्राष्ट्रिय तहसम्म बजार विस्तार गर्न प्रदर्शनीले सहयोग गर्न सक्ने चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेको अपेक्षा छ । करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गर्ने आयोजकको अनुमान छ ।

किसान, विद्यार्थी, नीति निर्मातादेखि उद्योगी र डेरी उद्योगमा लाग्ने योजना बनाएका नवउद्यमीहरूले मेलाबाट लाभ लिन सक्ने घिमिरेले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully