नेपालको नागरिक एप र भारतको आधार कार्डलाई इन्टिग्रेट गर्नेबारे सोच्दै छौं : भारतीय राजदूत श्रीवास्तव

माघ २५, २०८१

कान्तिपुर संवाददाता

We are thinking of integrating Nepal's citizen app and India's Aadhaar card: Indian Ambassador Srivastava

काठमाडौँ — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको नागरिक एप र भारतको आधार कार्डलाई इन्टरअपरेबल अर्थात् एकअर्काको देशमा चल्ने गरी जोड्ने प्रयास भइरहेको बताएका छन् ।

नेपालस्थित भारतीय दूतावासले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल-भारत स्टार्टअप कनेक्टको दोस्रो संस्करणबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा श्रीवास्तवले नागरिक एप र आधार कार्डलाई जोड्न सके नेपाल र भारतका नागरिकलाई एकअर्काको देशमा आवतजावत सहज हुनसक्ने आफूहरूको धारणा रहेको विचार व्यक्त गरेका हुन् । 

नेपाल र भारतका स्टार्टअपहरूबीच सहकार्य र समन्वयको अवसर जुटाउने प्रयासस्वरूप आयोजना हुने गरेको यो कार्यक्रममा उद्यमी, लगानीकर्ता र नीति निर्माताहरूले दुई देशका स्टार्टअप इकोसिस्टमलाई एकआपसमा जोड्ने लक्ष्य रहेको बताएका छन् । कार्यक्रममा राजदूत श्रीवास्तवले नेपाली कम्पनीहरू डिज्नीको लागि भीआर निर्माण गर्ने र न्यूयोर्क स्टक एक्स्चेन्जमा सूचीकृत हुने तहसम्म पुगिसकेको उल्लेख गर्दै त्यसले नेपाल स्टार्टअप र सूचना प्रविधि कम्पनीहरूको लागि उर्वर भूमि रहेको संकेत गर्ने विचार व्यक्त गरेका थिए । 

'विशेषगरी आर्थिक प्रविधि, यातायात, ईकमर्शजस्ता क्षेत्रमा नेपाली स्टार्टअपहरूले राम्रो गरिरहेका छन्,' श्रीवास्तवले भने, 'भारतमा पनि १०० वटाभन्दा बढी स्टार्टअपहरू अत्यन्तै सफल अर्थात् युनिकर्न भइसकेका छन् ।' श्रीवास्तवले भारत सरकारले आफ्नो देशका स्टार्टअपहरूलाई सक्रिय रूपमा सघाइरहेको प्रसंग उल्लेख गर्दै दुई देशका स्टार्टअपहरूबीच सहकार्यको संभावना बढ्दै गएको पनि बताए । 

कार्यक्रममा श्रीवास्तवले दुई देशबीच रहेको सीमापार भुक्तानी प्रणालीको उदाहरण दिंदै यस्ता प्रविधिले भारतीय पर्यटकलाई अत्यन्तै सहज भएको र नेपालसँगको आर्थिक सम्बन्धलाई अझै बलियो बनाएको उल्लेख गरेका थिए ।

कान्तिपुर

Link copied successfully