रोल्पामा करोडौंका पर्यटकीय संरचना प्रयोगविहीन

करोडौंका संरचना बनाएर उचित प्रयोग गर्न नसक्दा राज्यको बजेट खेर गयो

माघ २५, २०८१

काशीराम डाँगी

Tourist infrastructure worth crores is unused in Rolpa

रोल्पा — रोल्पा सदरमुकाम लिबाङनजिकै सातदोबाटोमा रोल्पा नगरपालिकाको लगानीमा भ्यु टावर निर्माण गरिएको छ । नगरपालिकाले करिब ६ करोडको लगानीमा २०७८ मा टावर निर्माण सकिएको थियो । टावरसँगै नगरकै लगानीमा सामुदायिक वनको समेत जग्गामा ढुंगे बगैंचा (रक गार्डेन) निर्माण गरियो । त्यसैको छेउमा बाल उद्यान निर्माण पनि भएको छ ।

उल्लिखित संरचना निर्माणमा सरकारको करोडौं बजेट खर्च गरिएको छ । तर यी यति बेला अलपत्र छन् । पछिल्लो अवधिका जनप्रतिनिधिले तीनवटै संरचनाप्रति चासो र संरचनामा प्राथमिकतासाथ ध्यान नदिएपछि पर्यटकीय चहलपहल पनि न्यून छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गरेको उक्त टावरको नाम ‘जनयुद्ध स्मृति भ्यु टावर’ राखिएको छ ।

तीनवटै संरचनाको विकास र संरक्षणका लागि पटकपटक पहल थालिएको रोल्पा नगरप्रमुख सुरेन्द्र घर्तीमगरले बताए । ‘टावर, रक गार्डेन र बाल उद्यान निजी क्षेत्रलाई जिम्मेवारी सुम्पने गरी व्यवस्थापन मिलाउने योजनामा छौं,’ उनले भने । निजी क्षेत्रलाई संरक्षण र सञ्चालन गर्ने गरी सहुलियत दरमा टेन्डर खुलाउने प्रक्रिया थाल्ने निर्णय भएको उनले जनाए । तीनवटै संरचनाको विकास र संरक्षणका लागि एकीकृत रूपमा योजना बनाउन सके राम्रो हुने र नियमित आम्दानीसमेत हुने भ्यु टावर निर्माण योजनाको नेतृत्व गरेका पूर्वनगरप्रमुख पूर्ण केसीले सुझाव दिए ।

आन्तरिक पर्यटनको विकासमा टेवा पुर्‍याउन एवं स्थानीय गुरुङको सांस्कृतिक महत्त्व वृद्धि गर्ने उद्देश्यले वडा नम्बर ४ गुरुङ गाउँमा पर्यटन मन्त्रालयको ठूलो लगानीमा होमस्टे एवं सांस्कृतिक संग्रहालय सञ्चालन गर्न भवन निर्माण गरिएको छ । पर्यटन मन्त्रालयको लगानीमा गुरुङ गाउँमा करिब २ करोड ८९ लाख लगानीमा बहुउद्देश्यीय भवन, पिकनिक पार्क, बगैंचालगायत संरचना निर्माण गरिएको हो ।

Tourist infrastructure worth crores is unused in Rolpa

तत्कालीन उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा स्थानीय समुदायलाई ती संरचना हस्तान्तरण गरिएको थियो । तर पूर्ण रूपमा कार्यविधि नबनाई हस्तान्तरण गर्न हतार मात्रै गरिएकाले स्थानीयले ती संरचनाको सही र उचित उपयोग गर्न सकेका छैनन् । होमस्टेको विकास र सांस्कृतिक महत्त्व बढाउने आशाले ती संरचनाको जिम्मा लिइएको गुरुङ गाउँ होमस्टेका अध्यक्ष हरिजंग गुरुङले बताए ।

राज्यले गुरुङ गाउँमा ठूलो लगानीमा भवन र अन्य संरचना निर्माण गरिदिए पनि त्यहाँसम्म पुग्ने सडकको स्तरोन्नति गर्न नसक्दा पर्यटकीय चहलपहल हुन र होमस्टे समेत प्रभावकारी रूपमा सञ्चालनमा आउन न सकेको छैन । ‘राज्यले प्राथमिकता दिएको भनेर हामीले ती संरचना निर्माण गर्न जग्गा दान गर्‍यौं, तर भवन मात्रै बनाइदिएर कसरी प्रयोग गर्ने, केका लागि प्रयोग गर्ने भन्ने अन्योल अवस्था छ,’ स्थानीय अगुवा महिला हीराकुमारी घलेले भनिन् । सडक पूर्वाधारको समेत विकास गरिदिए राम्रो हुने उनको भनाइ छ ।

Tourist infrastructure worth crores is unused in Rolpa

काशीराम डाँगी डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully