गोरखा — ९ वर्षअघि सुरु भएको बारपाक जोड्ने सडकको अन्तिम दुई खण्डमा निर्माणको काम लामो समयदेखि अलपत्र बनेको छ । २०७५ भित्रै कालोपत्र सकिने गरी ठेक्का लागेको अन्तिम दुई खण्डको काम अलपत्र पर्दा धुलाम्मे बाटोले स्थानीय हैरानीमा छन् । यो सडक भएर बारपाकसहित धार्चे गाउँपालिका–४ लाप्राक, वडा–५ गुम्दासम्मका स्थानीय आउजाउ गर्दै आएका छन् ।
बाह्रकिलोबाट बारपाकसम्म ४६.६ किलोमिटर सडक चार खण्ड छुट्याएर ठेक्का लगाइएको थियो । सुरु खण्डको ५ किलोमिटर र १७ देखि २२ किलोमिटर खण्डको ५ किलोमिटर क्षेत्र कालोपत्र भइसकेको छ । बारपाक पुग्ने सडकको मसानेठाँटीदेखि निवेल खहरेसम्मको १२ किलोमिटर क्षेत्र मध्यपहाडी लोकमार्गअन्तर्गत पर्छ । उक्त खण्डको पनि कालोपत्र भइसकेको छ ।
अर्कुलदेखि ढोडेनीसम्मको २२ देखि ३० किलोमिटर र अन्तिम खण्ड बालुवादेखि बारपाकसम्म ३० देखि ४६ किलोमिटर क्षेत्रको काम भने अलपत्र परेको हो । ९ वर्षमा सडकको समग्र प्रगति ९० प्रतिशत छ । अर्कुलदेखि ढोडेनीसम्मको ८ किलोमिटर सडक कालोपत्रको जिम्मा लिएको लोहनी एन्ड ब्रदर्सले काम नगर्दा उक्त खण्ड वर्षौंदेखि अलपत्र परेको छ ।
चालु आर्थिक वर्षमा ठेकेदार कम्पनी साइटमै नआएको गोरखा सडक योजना गोरखाका प्रमुख अमिन्द्र खड्काले बताए । उक्त खण्डको २०७२ असार ३१ मा ठेक्का सम्झौता गर्दा २०७४ असार १५ भित्रै काम सम्पन्न गर्नुपर्ने उल्लेख छ ।
‘उक्त खण्डको भौतिक प्रगति ८० प्रतिशत छ तर भएको कालोपत्र पनि उप्किसकेको छ,’ कार्यालय प्रमुख खड्काले भने, ‘दसौं पटक काम सुरु गर्न पत्राचार गरिसक्यौं, ठेकेदार काममै आएनन् ।’ ८ मध्ये ६ किलोमिटर कालोपत्र गरिएको क्षेत्रको पनि पुनः मर्मत गर्नुपर्ने अवस्था देखिएको उनले बताए ।
निर्माण व्यवसायीको बेवास्ताले काम अलपत्र बनेको खड्का बताउँछन् । उक्त ठेक्काको म्याद ७ पटकसम्म थप भइसकेको छ । काम नगरे अर्कुलदेखि ढोडेनीसम्मको खण्डको ठेक्का तोड्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।
बारपाक सडक खण्डअन्तर्गत बालुवादेखि बारपाकसम्मको अन्तिम खण्डको काम भने ९० प्रतिशत सकिएको छ । ३० देखि ४६ किलोमिटर क्षेत्रको यो खण्डमा अब १५ सय मिटर कालोपत्र बाँकी रहेको खड्काले बताए । ठेकेदार कम्पनी रसुवा/इलाइट/सूर्य जेभीले २०७३ असार २६ मा ठेक्का सम्झौता गर्दा २०७५ असार १३ भित्र १६ किलोमिटर सडक कालोपत्र सक्ने उल्लेख छ ।
पटक–पटक म्याद थप भएको उक्त खण्डको अन्तिम पटक थपिएको म्याद अगामी असारसम्म छ । ‘यो खण्डमा ढलान र कालोपत्र दुवै भएको छ,’ उनले भने, ‘यसपटक काम सन्तोषजनक रूपले अघि बढेकाले असारसम्म सक्ने अपेक्षा लिएका छौं ।’ अब बारपाक सडक खण्डअन्तर्गत साढे ३ किलोमिटर कालोपत्र बाँकी रहेको उनको भनाइ छ । यस वर्ष पानी नपर्दा धूलोले हैरानी बनाएको बारपाकका जितबहादुर घलेले बताए ।
