सामाजिक सञ्जालसम्बन्धी विधेयकबारे कन्टेन्ट क्रिएटरका कुरा सुन्नैपर्छ : सांसद श्रेष्ठ

माघ २४, २०८१

कान्तिपुर संवाददाता

Content creators should be heard about the social media bill: MP Shrestha

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बिहीबार प्रतिनिधिसभामा सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोध गरिरहेका युवा र कन्टेन्ट क्रिएटरहरूको आवाज सरकारले सुन्नुपर्ने बताएकी छन् । उनले सामाजिक सञ्जालमा सुरु भएको विरोध र कन्टेन्ट क्रिएटरहरूको आपत्तीलाई तत्काल मनन गरिनुपर्ने धारणा राखेकी हुन् ।  

‘कन्टेन्ट क्रिएटरहरूले अधिनायकवाद भयो, वाक स्वतन्त्रता हनन गर्ने विधेयक ल्याइयो भनेर आवाज उठाइरहेका छन्, सरकारले उनीहरूको आवाज सुन्नुपर्छ,’ श्रेष्ठले भनिन्, ‘विधेयकहरू बनाउँदा जसका लागि बनाइएको हो, उनीहरूसँग छलफल गरिन्छ ? गरिँदैन भन्ने पुष्टि भएको छ ।’

युवाले माइतघर मण्डला घेर्दा वा सार्वजनिक सम्पत्ति तोडफोड गर्दा मात्रै सरकारले उनीहरूका कुरा सुन्‍ने हो कि अरू बेलामा पनि जनताको आवाज सुन्छ भनेर उनले प्रश्न गरेकी थिइन् । उनले सोसल मिडियाका कन्टेन्ट क्रिएटरहरूलाई बोलाएर डिजिटल स्पेस, पर्सनल ब्रान्डिङ र कन्टेन्ट क्रिएसनका आधारभूत पक्षबारे बुझ्नसमेत सरकारलाई आग्रह गरिन् ।

‘कन्टेन्ट क्रिएटर भाइबहिनीहरूलाई बोलाउनुस् र बुझ्नुस्, कन्टेन्ट क्रिएसन भनेको के हो, सोसल मिडियामा आइडेन्टिटी कसरी बनाइन्छ, पर्सनल ब्रान्डिङ कसरी गरिन्छ भनेर सोध्नुस्,’ उनले भनिन्, ‘यति साधारण कुरा पनि नबुझेर यो विधेयक ल्याइएको छ ।’ श्रेष्ठले विधेयकलाई दलीय स्वार्थभन्दा माथि उठेर हेरिनुपर्ने बताउँदै सबै सांसदहरूलाई युवाको आवाज संसद्मा उठाउन आग्रह गरिन् । 

कान्तिपुर

Link copied successfully